काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा आर्थिक गतिविधिमा सुधार आएको दाबी गरेको छ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, आधारभूत मूल्यमा त्रैमासिक कुल गार्हस्थ उत्पादन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ५.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
कार्यालयले यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा मुख्यतया यातायात क्षेत्रमा भएको उल्लेख्य वृद्धि, निर्माण क्षेत्रमा देखिएको सुधार, कृषि उत्पादनमा भएको बढोत्तरी, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको जनाएको छ।
यस त्रैमासिकमा समावेश गरिएका १८ वटा औद्योगिक क्षेत्रमध्ये सबैमा सकारात्मक वृद्धिदर अनुमान गरिएको छ।
यद्यपि, कार्यालयले शिक्षा क्षेत्र, आवास तथा भोजन क्षेत्र र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेको कारणले समग्र अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान गरेको छ।
मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा २.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।
कार्यालयका अनुसार, पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा समावेश गरिएका १८ औद्योगिक क्षेत्रमध्ये दुईवटामा ऋणात्मक वृद्धि देखिए पनि अन्य क्षेत्रको सामान्य वृद्धिले समग्र कुल गार्हस्थ्य उत्पादनमा झिनो अङ्कले भए पनि वृद्धि भएको हो। यस अवधिमा यातायात तथा भण्डारण क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा धेरै वृद्धि हुने अनुमान गरिएको छ।
वर्ष-देखि-वर्षको वृद्धिदरलाई हेर्दा, चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यातायात तथा भण्डारणसँग सम्बन्धित गतिविधिमा सबैभन्दा धेरै १४.२ प्रतिशतको वृद्धि देखिएको छ।
त्यसैगरी, खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत, विद्युत तथा ग्यास क्षेत्र ९.२ प्रतिशत र निर्माण क्षेत्र ९.१ प्रतिशतले वृद्धि भएको छ।
उत्पादनमूलक उद्योग ७.४ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्र ६.६ प्रतिशत, व्यापार क्षेत्र ६.१ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्र ४.९ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
धान उत्पादनमा भएको वृद्धि, तरकारी, फलफूल र पशुजन्य उत्पादनमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको छ। त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादन र आयातमा भएको वृद्धिले थप टेवा पुर्याएको छ भने औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएकाले उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार देखिएको छ।
सार्वजनिक प्रशासन तथा रक्षा, स्वास्थ्य, र घरजग्गा कारोबार लगायतका सेवा क्षेत्रको वृद्धिदर भने सामान्य रहेको छ।
कार्यालयले विगत तीन आर्थिक वर्षको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन वृद्धिदरलाई हेर्दा नेपालको आर्थिक वृद्धिदरमा उतारचढाव देखिए पनि आर्थिक वर्ष २०७९/८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिएको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्