अमरराज आचार्य,
दाङ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा उद्योग वाणिज्य क्षेत्रमा सवा पाँच अर्ब लगानी भयो । झट्ट सुन्दा यो लगानी उत्साहप्रद लाग्न सक्छ ।
प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीका अनुसार घरेलु तथा साना उद्योगमा दुई अर्ब ८० करोड ६८ लाख रुपैयाँमा प्रदेशभरि एक हजार १२८ वटा घरेलु तथा साना नयाँ उद्योग दर्ता भए । नयाँ दर्तासँगै पूराना झन्डै ४० प्रतिशत उद्योग अर्थात् ७४२ वटा उद्योग बन्द गरिए ।
बन्दको तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालयको रेकर्डको मात्र हो । यसबाहेक पनि धेरै उद्योग बन्द भएका छन् । बैंकको ऋण तिर्न नसकेर विदेश कमाउन जानेले पनि उद्योग बन्द गरेका छन् । यस्ता उद्योगको रेकर्ड सरकारी कार्यालयमा छैन । यस अवधिमा उद्योगले एक करोड ७६ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।
उद्योगजस्तै वाणिज्यतर्फ पनि यही चौमासिकमा नयाँ फर्म दर्ता उत्साहजनक नै छ । दुई अर्ब ४३ करोड १६ लाख वाणिज्य क्षेत्रको लगानीमा एक हजार ५२४ वटा फर्म दर्ता भएका छन् ।
चार हजार ३८६ पूराना फर्म नविकरण भएका छन् । वाणिज्य फर्मबाट चार महिनाको अवधिमा दुई करोड २४ लाख ८१ हजार राजस्व असुली भएको मन्त्रालयले जनाएको छ ।
चार महिनामा ५१९ महिला र ९३३ पुरुष उद्यमी भएका छन् । यस्तै, एक हजार ६४७ महिला र ३ हजार ३५ जना पुरुषले रोजगारी पनि पाएका छन् ।
वाणिज्य क्षेत्रमा पनि नयाँ फर्म दर्तासँगै पूराना बन्द हुने क्रम पनि रोकिएको छैन । झन्डै ३४ प्रतिशत फर्मवाला पलायन भए अर्थात् प्रदेशभरि यो अवधिमा ७८२ वटा वाणिज्य फर्म बन्द भएका छन् ।
नयाँ उद्योग र फर्म खुल्ने भन्दा पनि पूराना बन्द हुुने रोग लुम्बिनी प्रदेशमा बढ्दै गएको छ किन त ? राज्यको अस्पष्ट नीतिले उद्योग तथा वाणिज्य क्षेत्रको लगानी बढेको सम्बद्ध उद्योगी व्यवसायीको दाबी छ ।
सेवामूलक उद्योग तथा व्यापार धेरै खुल्ने र बन्द हुनुलाई सामान्य ठान्छन्, प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार वली । “अहिले अवस्थामा एक हजारभन्दा बढी घरेलु तथा साना उद्योग थपिनुलाई सकारात्मक रूपमा लिनु पर्छ”, डा. वली भन्छन्, “उद्योग वाणिज्य थपिनु तथा बन्द हुनु नियमित प्रक्रिया हो ।” दीर्घकालीन योजना बिना देखासिकीमा खुलेका उद्योग व्यवसायले समस्या निम्तिएको उनको बुझाइ छ ।
उद्योग तथा व्यवसाय दर्तामा समेत समस्या रहेको उनले बताए । “एउटा उद्योगी तथा व्यवसायीले ३ तहका सरकारलाई कर तिर्नु पर्दछ”, उनले भने, “लगानी गर्न सहज वातावरण निर्माण गरिनु पर्दछ” । स्थानीय तहले नियमनको भूमिका निर्वाह गरेर बजार खुल्ला छोडिनु पर्ने उनी बताउँछन् । राज्यले बजार नियन्त्रण गर्न हुँदैन् । “राज्यले वातावरण बनाउने र निजी क्षेत्रले उद्योग तथा व्यापार व्यवसाय गर्ने हो”, उनले भने ।
व्यावसायिक वातावरण निर्माणका स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भए पनि त्यस्तो वातावरण सिर्जना भइनसकेको उनको तर्क छ । “उत्पादनको बजारीकरणमा समेत स्थानीय सरकारले भूमिका खेल्नु पर्दछ । तर, त्यसको गरेको पाइदैन्”, उनले भने, “जनप्रतिनिधिले नेतृत्वको लिन नसक्दा यस प्रकारको समस्या भएको हो ।”
उद्योगी व्यवसायी टिकाउन तथा आकर्षण गर्नका लागि राज्यको नीतिमा सुधार हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । राज्यको नीतिले पनि उद्योग तथा वाणिज्य व्यवसाय बन्द हुने गरेको उनको भनाइ छ । उद्योगले उत्पादन गरेका वस्तुहरु खपत नहुँदा उद्योग बन्द हुने गरेका छन् ।
“बाहिर निर्यात गर्न समस्या छ आन्तरिक रूपमा खपत हुँदैन” अध्यक्ष शर्माले भने, “वस्तु नै खपत नभएपछि कसरी उद्योग सञ्चालन हुन सक्दछन् ?”
उद्योगबाट उत्पादन भएका वस्तु खपत हुन नसक्नुको कारण बढ्दो वैदेशिक पलायन तथा पर्याप्त मात्रामा पर्यटन क्षेत्रको विकास हुन नसक्नु उनको दाबी छ । देशमा केही छैन भन्ने नकारात्मक प्रचार बढी हुँदा पनि देशमा भन्दा पनि विदेश पलायनमा आकर्षण बढ्दै गएको अध्यक्ष शर्मा बताउँछन् । उनी आशावादी हुन्छन्, ‘“निराश भइहाल्ने अवस्था आएको छैन, आर्थिक चलायमान बिस्तारै बढ्दै गएको छ । यसको सकारात्मक प्रभावसमेत देखिन थालिएको छ ।”
उद्योग खारेजीको संख्या बढ्दै जान थालेपछि सहज रूपमा उद्योग सञ्चालनको वातावरण निर्माणबारे उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उपायको खोजी गर्न थालेको छ ।
रुग्ण अवस्थामा चलिरहेका उद्योग कसरी चलायमान बनाउने भन्ने बारेमा मन्त्रालयले प्रदेशका यस्ता उद्योगहरूको पहिचान गर्ने भएको छ ।
“प्रदेशका १२ वटै जिल्लाका उद्योगको अवस्था हेर्ने हो भने खारेजी हुने संख्या बढ्दै गएको देखिन्छ । यसले के पुष्टि गर्छ भने उद्योग सञ्चालनमा अहिले निकै कठिनाइ उत्पन्न भइरहेको छ”, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, “उद्योग सञ्चालनमा देखिएका व्यवधान कसरी हटाउन सकिन्छ भन्ने विषयमा हामी गम्भिर छौं । अब यसको कारणको खोजी गरी मन्त्रालयका तर्फबाट उद्योगको सहज सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी गम्भिर रूपमा लाग्छौं ।”
उनका अनुसार पहिलो चरणमा प्रदेशभर रुग्ण अवस्थामा रहेका उद्योग पहिचान गरिने भएको छ । उद्योगहरू रुग्ण बन्नुको कारण खोजी हुने छ र यस्ता उद्योग चलायमान बनाउनका लागि मन्त्रालयले गर्न सक्ने आवश्यक सहयोग एवं समन्वयको योजना बनाउने भएको छ ।
प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयलाई यस्ता रुग्ण उद्योग पहिचान गर्न निर्देशन दिएको मन्त्री न्यौपानेले बताए । सोही निर्देशन अनुसार उद्योग कार्यालयमार्फत रुग्ण उद्योगको संख्या र अवस्था यकिन गरिने भएको छ ।
“उद्योग व्यवसाय सहज तरिकाले चलायमान बनाउनका लागि उचित वातावरण निर्माण गरिनुपर्छ । अहिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर कैयौं उद्योगी, व्यवसायी विदेश पलायन हुनु परिरहेको तीतो यथार्थ छ”, मन्त्री न्यौपानेले भने, “यहाँका उद्योग सहज रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेर प्रदेशको समृद्धिको लक्ष्य पूरा गर्ने योजनामा मन्त्रालय लागिपरेको छ ।”
मन्त्री न्यौपानेले यस्ता रुग्ण उद्योग पहिचानपछि सरकारका तर्फबाट आर्थिक सहायताको कार्यक्रम तय गरिने बताए । “रुग्ण उद्योग पहिचान गरेर उद्यमीलाई आर्थिक सहायता उपलब्ध गराउने गरी योजना बनाइने छ”, मन्त्री न्यौपानेले भने । उद्योग वाणिज्य क्षेत्रमा लगानी बढाउन राज्यको लगानीमैत्री स्पष्ट नीति तथा कार्यक्रम ल्याउन उद्योगी व्यवसायीको सुझाव छ ।
समृद्ध लुम्बिनीबाट
प्रतिक्रिया दिनुहोस्