सरकारले भन्यो: ‘इराक घटनापश्चातको अराजक आन्दोलन सम्झाउने प्रदर्शन’


काठमाडौँ । सरकारले राजावादी आन्दोलनलाई ‘अराजक’ को संज्ञा दिएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै शुक्रबार काठमाडौँको तीनकुनेमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै भएका प्रदर्शनलाई अराजक गतिविधिका रूपमा चित्रण गरेको हाे ।

गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रदर्शनका क्रममा भएका केही घटनालाई स्मरण गराउँदै यसलाई अराजक प्रदर्शनका रूपमा व्याख्या गरेका थिए। प्रवक्ता भट्टले २० वर्षअघि इराकमा नेपाली नागरिकहरू मारिँदा भएको प्रदर्शनको सन्दर्भ जोड्दै अहिलेको आन्दोलन पनि त्यस्तै स्वरूप लिएको बताएका छन्।

तीनकुनेस्थित अन्नपूर्णपाेष्टकाे कार्यालयमा आगजनी प्रयास गरिँदै ।

उनले भने, “२० वर्षअघि इराकमा नेपाली युवा मारिँदा जस्तो हिंसात्मक प्रदर्शन भएको थियो, अहिले राजावादी आन्दोलनका नाममा भइरहेको प्रदर्शन पनि अराजकताको दिशामा उन्मुख देखिन्छ। तीनकुनेमा राजावादी हिंसात्मक प्रदर्शन भयो। पूर्वराजाका समर्थकद्वारा भएको गतिविधि दुःखदायी र खेदजनक छ। संविधानले दिएको स्वतन्त्रता नै लाज लाग्ने खालको देखियो। दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले सवारी चलाएपछि अवस्था बिग्रिएको हो ,” ।

गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ। “यो राजनीतिक आन्दोलन हो भन्ने नठान्नु होला । यो सरासर आपराधिक, लुटपाट, हिँसाजन्य र अमानवीय कार्य हो । सरकार आज जस्तै संयमित भएर बस्दैन,” प्रवक्ता तिवारीले भने ।