काठमाडौं । नेपालमा भारतीय नागरिकहरूको जनसङ्ख्या बढ्दै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। सो कार्यालयद्वारा हालै सार्वजनिक नेपाल अन्तर्राष्ट्रिय बसाइँसराई प्रतिवेदनअनुसार पछिल्ला सातओटा जनगणनाको तथ्याङ्कले भारतमा जन्म भई नेपालमा बसोबास गरिरहेको जनसङ्ख्या अत्यधिक रहेको देखाएको हो।
वि.सं. २०७८को राष्ट्रिय जनगणना अनुसार नेपालमा रहेका कुल विदेशी मूलका जनसंख्या ७ लाख ३४ हजार ६ सय ६३ मध्ये ७ लाख १३ हजार ९ सय ७३ जना भारतीय नागरिक रहेका छन्। लैङ्गिक वितरणको हिसाबले हेर्दा यीमध्ये ५ लाख ३८ हजार ४३ जना महिला र १ लाख ७५ हजार ९ सय ३० जना पुरुष रहेका छन्।
वि.सं. २०१८ मा नेपालमा रहेका कुल विदेशी मूलका जनसंख्यामध्ये ९६ प्रतिशत भारतीय नागरिक थिए। यो अनुपात त्यसपछिका वर्षहरूमा पनि लगभग स्थिर (९५ प्रतिशत) रहेकोमा २०७८ सालमा कुल विदेशी मूलका जनसंख्याको ९७.२ प्रतिशत पुगेको छ।
वर्ष | कुल विदेशी मूलका जनसंख्या | भारतीय मूलका जनसंख्या | भारतीय मूलका जनसंख्या (प्रतिशतमा) |
1961 | ३३७,६२० | ३२४,१५९ | 96 |
1971 | ३३७,४४८ | ३२२,७१८ | 95.6 |
1981 | २३४,०३९ | २२२,२७८ | 95 |
1991 | ४३९,४८८ | ४१८,९८२ | 95.3 |
2001 | ६०८,०९२ | ५८३,५९९ | 96 |
2011 | ४७९,६२५ | ४४९,१४९ | 93.6 |
2021 | ७३४,६६३ | ७१३,९७३ | 97.2 |
भारतमा जन्म हुनेमध्ये यहाँ महिलाको हिस्सा दुईतिहाइभन्दा बढी भएको प्रतिवेदनले औंल्याएको छ । अन्य देशमा जन्मेका जनसङ्ख्याको अनुपात ४ प्रतिशतको हाराहारीमा एकनास देखिएको छ तर यो वि.सं. २०७८ मा भने २.८ प्रतिशतमा झरेको छ।
जनगणनाअनुसारभारतमा जन्मेर नेपालमा बसोबास गरिरहेका कुल जनसङ्ख्यामध्ये भारतमा जन्मिएका ७ लाख १३ हजार ९ सय ७३ जनामध्ये ८४.५५ प्रतिशत नेपाली नागरिकता लिएर बसोबास गरिरहेका छन् भने १५.४४ प्रतिशत भारतीय नागरिककै रूपमा रहेका छन्।
विदेशमा जन्म भई हिमाली क्षेत्रमा बसोबास गर्नेमध्ये लगभग ८० प्रतिशत भारतीय नागरिक थिए भने त्यस क्षेत्रमा करिब १० प्रतिशत चिनियाँ नागरिक थिए।
विदेशी नागरिकताअनुसार नेपालका विभिन्न जिल्लामा बसोबास गर्नेहरूको वितरण हेर्दा शीर्ष १० ओटा जिल्लामा क्रमशः काठमाडौं, चितवन, रूपन्देही,कास्की, पर्सा,झापा, ललितपुर, मोरङ, बारा र सुनसरी रहेका छन् । यी सबै १० जिल्लामा भारतीय नागरिकहरूको अनुपात सबैभन्दा उच्च देखिएको छ । चिनियाँ नागरिक र अन्य देशका नागरिकहरूको अनुपात भारतीय नागरिकहरूको तुलनामा निकै नै न्यून रहेको छ ।
सार्क राष्ट्रहरूबाट आएका मानिसहरूमध्ये ६०.६६ प्रतिशत नेपाली नागरिकता लिएर बसेका छन् भने २.४२ प्रतिशत भारतीय नागरिकता लिएर र २७.७९ प्रतिशत अन्य सार्क राष्ट्रकै नागरिकता लिएर बसेका छन्। यसैगरी, अन्य एसियाली देशहरूबाट आएकामध्ये ९५.२१ प्रतिशत नेपाली नागरिकता लिएर बसेका छन्।
प्रतिवेदनमा तराईमा बसोबास गर्ने ७६ हजार ३ सय ९७ विदेशी मूलका जनसंख्यामध्ये ७५ हजार ८ सय २३ जना भारतीय नागरिक भएको उल्लेख गरेको छ, यो विदेशी मूलका जनसंख्याको ९९.२ प्रतिशत हो। पहाडी क्षेत्रमा ५८ हजार ३ सय ४७ विदेशी मूलका जनसंख्यामध्ये ५४ हजार ८ सय ३९ जना (९४. प्रतिशत) भारतीय नागरिक छन् भने हिमाली क्षेत्रमा २ हजार ४ सय ७४ विदेशी मूलका जनसंख्यामध्ये २ हजार १ सय १९ जना (८५.७ प्रतिशत) भारतीय नागरिक रहेका छन्। हिमाली क्षेत्रमा अन्य राष्ट्रियताका मानिसहरूको उपस्थिति हेर्दा चीनबाट आएका २ सय ७७ जना (११.२ प्रतिशत) रहेका छन्।
प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा भारतीय नागरिकहरूको उपस्थिति सबैभन्दा उच्च (९९.६ प्रतिशत) रहेको छ। मधेश प्रदेशमा २७ हजार ४ सय २१ विदेशी मूलका जनसंख्यामध्ये २७ हजार ३ सय ७ जना भारतीय नागरिक छन्। प्रतिवेदनअनुसार रुपन्देहीमा सर्वाधिक भारतीय मूलको जनसंख्या रहेको छ।
यसपछि लुम्बिनी प्रदेशमा ९९.२ प्रतिशत, कोशी प्रदेशमा ९८.८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९.१ प्रतिशत भारतीय नागरिक रहेका छन्। बागमती प्रदेशमा भने भारतीय नागरिकहरूको उपस्थिति केही कम (९३.७ प्रतिशत) रहेको छ, जहाँ चिनियाँ नागरिकहरूको संख्या १ हजार ४ सय ५० (२.८ प्रतिशत) रहेको छ। गण्डकी प्रदेशमा ९५.३ प्रतिशत भारतीय नागरिक र २.६ प्रतिशत चिनियाँ नागरिक रहेका छन्।
कर्णाली प्रदेशमा भने विदेशी मूलका जनसंख्याको संख्या नै कम (७ सय १३) रहेको छ, जसमध्ये ९६.९ प्रतिशत भारतीय नागरिक छन्।
प्रतिक्रिया दिनुहोस्