फेसबुक लाइभमा आएर दुर्गा प्रसाईँले भनेः म भागेको छैन, काठमाडौँकाे कुनै मन्दिरमा छु


काठमाडाैँ । काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गते हिंसात्मक आन्दोलन गरेका दुर्गा प्रसाईं हाल फेसबुक लाइभ मार्फत सार्वजनिक भएका छन्।

एक भिडियो सन्देशमा उनले आफू नभागेको तर आफ्नो ज्यानको सुरक्षा गर्न काठमाडौँका कुनै मन्दिरमा सुरक्षित बसेको बताएका छन्। उनले भने, “म भागेको छैन, म सुरक्षाकर्मीहरूको नजिकै छु। मलाई खोज्नुपर्दैन। मलाई भेटेको स्थानमा गोली हान्ने आदेश गरिएको थियो, त्यसैले म सुरक्षित बसिरहेको छु।”

प्रसाईंका अनुसार आन्दोलन स्थलमा पुग्नुअघि नै प्रहरीबाट गोली र टियर ग्यास हान्न थालिएको थियो। उनले आफ्नो गाडीमा टियर ग्यास प्रहार भएपछि प्रहरीको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा पुगेको उल्लेख गरेका छन्। साथै उनले प्रहरीप्रति सम्मान जनाउँदै भने, “मैले प्रहरीलाई चित्त दुखाउने कुनै काम गरेको छैन। मैले आफ्नो सुरक्षाका लागि घेरा तोडेको हुँ।”

चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईंकै अगुवाइमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँको धनमाल क्षति भएको छ।