काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको भनाइ छ ।
उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा भने उनी जवाफ दिने निष्कर्षमा पुगेका छन् ।
आजको बैठकमा ‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गर्नेछन् ।
यसै गरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गर्ने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्