कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍योः महामन्त्री शर्मा


काठमाडाैँ ।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका हुन् । उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे ।

उनले अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए ।”सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ति गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ? तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौं किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्दै फैसला चाहन्छु भन्छन्,” उनले भने ।

उनले फरक प्रसंगमा बोल्दै राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गरे । उनले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । जनतामा रहेका निराशाहरु लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरू हल गर्दै जानुपर्ने बताए ।