काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् ।
मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उनले पर्साको विलम्वलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरेका हुन् ।
सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए ।उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताए ।
सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरुमा नदेखिएको बताए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रुपमा प्रयोग गरिरहेको जिकिर गर्नुभयो । उहाँले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे । उनले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्