कृषि क्षेत्रको समग्र सुधारबाट मात्र भोकमरीको अन्त्य गर्न सकिन्छः कृषिमन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोकमरी र कुपोषणको अन्त्यका लागि कृषि क्षेत्रको समग्र सुधार अनिवार्य रहेको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा ‘विश्व भोकमरी सुचकांक प्रतिवेदन – २०२४’ सार्वजनिक गर्दै मन्त्री अधिकारीले नेपालले विगतका वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि अझै पनि दुर्गम क्षेत्रहरूमा खाद्य अभाव, वालकुपोषण, पोषण शिक्षाको अभाव र कृषि प्रणालीमा विद्यमान असमानता जस्ता चुनौतीहरू कायमै रहेको बताएका हुन् ।

उनले जलवायु परिवर्तन, कृषि जैविक विविधताको क्षयीकरण, रसायनको जोखिमयुक्त प्रयोग, तथा मानवीय क्षमतामा भइरहेको ह्रासले समस्यालाई थप जटिल बनाएको उल्लेख गरे। मन्त्री अधिकारीले यी चुनौतीको समाधानका लागि सरकारी निकाय मात्र होइन, सबै तहका नागरिक, संस्थाहरू र समुदायको सामूहिक प्रयास अपरिहार्य रहेको स्पष्ट पारे।

मन्त्री अधिकारीका अनुसार मन्त्रालयले अभियानमूलक माटो सुधार कार्यक्रम, प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग प्रवर्द्धन, स्थानीय तहमा उत्पादन हुने उपजको प्राङ्गारिक प्रमाणीकरणमा सहुलियत, रासायनिक विषादीको विकल्पका रूपमा जैविक र वनस्पतिक विषादीको प्रवर्द्धन जस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ। यस्ता पहलले नेपालको कृषि प्रणालीलाई जलवायु–उत्थानशील, दिगो र लैंगिक उत्तरदायी बनाउने विश्वास उनले व्यक्त गरे।

उनले पर्यावरणमैत्री कृषि प्रणालीका लागि स्पष्ट मार्गचित्र आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले सो दिशा तर्फ आवश्यक तयारी गरिरहेको जानकारी पनि दिए। साथै नेपालको कृषि उत्पादन प्रणालीलाई दिगो र समावेशी बनाउन थप लगानी आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ छ।

नेपाललाई भोकमरी र कुपोषणमुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्न सरकारी, गैर–सरकारी, निजी क्षेत्र, नागरिक समाज र स्थानीय समुदायबिच बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले यस्ता सहकार्यले सबै नागरिकमा खाद्य पहुँच सुनिश्चित गर्न सक्ने धारणा व्यक्त गरे।

यसैबीच सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालको भोकमरी सुचकांक २०२४ मा घटेर १४.७ मा झरेको छ, जुन सन् २००० मा ३७.१ थियो।