काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यता र आध्यात्मिक विरासतको पुनर्जागरणका लागि गुरुकुल शिक्षा प्रणालीलाई सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’को उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले गुरुकुलहरूले आजको सन्दर्भमा पनि दार्शनिक चाणक्यजस्तै मार्गदर्शकको भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले नेपाल वेद र बुद्ध दुवैको पवित्र भूमि भएकाले यस देशलाई दुवै ज्ञानका केन्द्रका रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने उल्लेख गर्दै, संस्कृत, सभ्यता र पूर्वीय दर्शनको माध्यमबाट पर्यटन प्रवर्द्धनको ढोका खोल्न सकिने धारणा व्यक्त गरे। “संस्कृति र प्रकृति नेपालका दुई अमूल्य धरोहर हुन्। तिनीहरूको समुचित संरक्षण र प्रवर्द्धनमार्फत विश्व समुदायलाई आकर्षित गर्न सकिन्छ,” उनले भने ।
संस्कृत विश्वविद्यालयको स्थापना मूल उद्देश्य अनुरूप क्रियाशील हुन नसकेको भन्ने सार्वजनिक बहसप्रति संकेत गर्दै उहाँले संस्थागत सुधारका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । नेपाल संस्कृत विश्वविद्यालयको भौतिक संरचना र सम्पत्ति समृद्ध रहेको उल्लेख गर्दै उहाँले त्यसको भरपुर सदुपयोग गरिनुपर्नेमा जोड दिए । पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रूपमा विकास गर्ने गृहकार्य पनि अघि बढिरहेको उनले जानकारी गराए ।
अहिलेको विश्व परिप्रेक्ष्यमा संस्कृतसँगै अङ्ग्रेजी भाषामा दक्ष जनशक्तिको माग उच्च रहेको स्मरण गराउँदै,नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित विश्वविद्यालयहरुमा संस्कृत प्राध्यापन गरिरहेको उदाहरण प्रस्तुत गरे । संस्कृतको उन्नयनमा क्रियाशील जयतु संस्कृतम् जस्ता संस्थाको योगदानको चर्चा गर्दै उनले सबै सरोकारवाला निकायहरुलाई आपसी समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।
मन्त्री पाण्डेले भौतिकभन्दा पनि आध्यात्मिक पक्ष दिनप्रतिदिन महत्वपूर्ण बन्दै गइरहेको वर्तमान सन्दर्भमा, पूर्वीय साहित्य, संस्कृत भाषा र सभ्यताको गरिमा र ज्ञानबाट समाजलाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिक्रिया दिनुहोस्