काठमाडौँ महानगरपालिकाद्वारा नेशनल अस्पताललाई १ लाख जरिवाना


काठमाडौँ । काठमाडौँको कलंकीमा सञ्चालित नेपाल नेशनल अस्पतालले स्वास्थ्य संस्थाबाट निस्कने जोखिमपूर्ण फोहरको उचित व्यवस्थापनमा लापरवाही गरेपछि १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ।

वातावरण तथा जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरी फोहर व्यवस्थापनमा बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाले अस्पतालमाथि कारबाही गरेको हो।

महानगरले यसअघि पटक–पटक अस्पतालको निरीक्षण गरी सुधारको अवसर दिएको थियो तर, सुधार नदेखिएपछि चैत २० गते पुनः अनुगमन गरिएको थियो। यसपटक फोहरको असरबाट हैरान स्थानीयबासीको उजुरीपछि गरिएको अनुगमनमा अवस्था फेरि पनि जस्ताको त्यस्तै पाइएपछि कारबाही अगाडि बढाइएको थियो। चैत २९ गते अस्पतालले १ लाख रुपैयाँ जरिवाना रकम महानगरपालिकाको राजस्व खातामा दाखिला गरेको हो।

“एक पटक होइन, दुई पटक होइन, हामीले पटक–पटक अनुगमन ग¥यौं। सुधारको मौका दियौं,” महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, “तर हस्पिटलले सुधार गरेन। त्यसैले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (ट) र (ठ) अनुसार जरिवाना गरेका हौँ।”

सम्बन्धित कानुन अनुसार रसायनिक, औद्योगिक, स्वास्थ्य संस्थाजन्य, जोखिमयुक्त वा हानीकारक फोहर जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने व्यक्तिलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। त्यही कसुर दोहोरिएमा पहिलो जरिवानाको दोब्बर रकम असुल्ने तथा आवश्यकताअनुसार अस्पतालको अनुमति नै रद्द गर्न सिफारिस गर्न सकिने व्यवस्था पनि छ।

नेपाल नेशनल हस्पिटलको पछाडिपट्टी जस्ताले बेरेर बनाइएको टहरामा जोखिमपूर्ण फोहर राख्ने गरिएको छ, जहाँ चारवटा कोठा छन्। गएको वर्षको अनुगमनमा त्यहाँ राखिएको अटोक्लेभ मेसिन बिग्रिएको जानकारी दिँदै अस्पतालले जोखिमपूर्ण फोहर निर्मलीकरण गर्ने प्रतिवद्धता जनाएको थियो। तर त्यसपछि पनि पटक–पटकको निरीक्षणमा अस्पतालले आफैं गरेको प्रतिबद्धता पालना गरेको देखिएन।

२०८० चैत १० गतेको अनुगमनमा समेत सुधार नदेखिएपछि पुनः मौका दिइएको थियो। त्यसै महिनाको १६ गते महानगरपालिकाले आयोजना गरेको अस्पतालजन्य फोहर व्यवस्थापन तालिममा अस्पतालका व्यवस्थापक र फोकल पर्सन सहभागी भए पनि व्यवहारमा परिवर्तन देखिएन।

यो वर्ष भदौ १० गते गरिएको अर्को अनुगमनमा विग्रिएको अटोक्लेभ मेसिन मर्मत नगरी जोखिमपूर्ण फोहरलाई प्लास्टिकको पोकोमा बाँधेर पुरिएको पाइयो। सुधारको पुनः अनुरोध गर्दै अस्पतालले अर्को मौका माग्यो, जुन अनुगमन टोलीले फेरि स्वीकार गर्‍यो। तर, अन्ततः चैत २० गतेको निरीक्षणमा समेत सुधार नदेखिएपछि महानगरले कारबाही स्वरूप १ लाख रुपैयाँ जरिवाना गर्‍यो।

फोहर व्यवस्थापनमा अस्पतालले देखाएको लापरवाही विभिन्न तहमा देखिएको छ स्रोतमै फोहर वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरलाई सुरक्षितरूपमा संकलन कक्षसम्म नपुर्‍याउनु, जोखिमयुक्त फोहरको निर्मलीकरणपछि समेत वर्गीकरण नगर्नु, फोहरको प्रकृतिअनुसार उपयुक्त भण्डारण नगर्नु, तथा आवश्यक उपकरणको अभाव वा प्रयोगमा कमजोरी देखिनुजस्ता लापरवाहीहरु अस्पतालको लापरवाह प्रवृत्तिको प्रमाण बनेका छन्। महानगरले यसलाई स्वास्थ्य तथा वातावरण दुवै क्षेत्रमा गम्भीर लापरवाहीको रूपमा लिँदै आगामी दिनमा यस्ता अस्पतालहरूमाथि कडा निगरानी बढाउने चेतावनी दिएको छ ।