काठमाडौँ । धेरै वर्षदेखि नेपाली बजारमा पिउनासाथ ताजगी दिने भन्दै विदेशी ब्रान्डका चिल्लो र अत्यधिक गुलिया (सुगरयुक्त) पेय पदार्थहरूले कब्जा जमाएका छन्।
टिनका डिब्बा र प्लास्टिकका बोतलमा सजिएका ती पेय वस्तुहरूलाई उपभोक्ताले आधुनिकता, सुविधा र स्टाइलको नाममा अँगाल्दै आएको पाइन्छ।
विद्यालयका क्यान्टिनदेखि सहरका रेस्टुरेन्ट, चिया पसलदेखि ठुला पार्टी–समारोहसम्म, कोक, फेन्टा, स्प्राइट जस्ता पेयहरू कार्बन र चिनीयुक्त पदार्थ अपरिहार्य जस्तै बनिसकेका थिए ।
हिजोआज समय बिस्तारै फेरिँदैछ । चमक-दमकको आकर्षणभन्दा बाहिर अब नागरिकहरू स्वाद, स्वास्थ्य र पहिचानमा भौतारिएको छन्।
यही खोजीको क्रममा मोही जुन परम्परागत, सस्तो, पोषिलो र आत्मीय पेय फेरि जनजीवनमा फर्किरहेको छ । उसो त गाउँघरमा त महीको परम्परा कहिल्यै हराएको थिएन तर हाल सहरमा भने यसले नयाँ पहिचान बनाइरहेको छ ।
बिहान सबेरै बजार पुग्ने मानिस होस्, घामले थकित मजदुर होस् वा क्याफेमा बसेर स्वास्थ्यप्रद विकल्प खोज्ने युवापुस्ता मही अब सबैको साझा पेय बन्न थालेको छ।
आजको दिनमा सिंहदरबार, अस्पताल, विद्यालयका क्यान्टिनसम्म मोहीको माग बढ्दै गएको उत्पादकको अनुभव छ ।
स्वास्थ्यसम्बन्धी सचेतना, रासायनिक तत्वबाट बच्ने मनोविज्ञान र नेपाली स्वादप्रति बढ्दो मोह लगायतका कारणले मोही पुनः लोकप्रिय बन्न थालेको छ ।
पछिल्लो समय डेरी उद्योगीहरूको साझा संस्था नेपाल डेरी एसोसिएसनले मोही प्रवर्धनका लागि हरेक प्रदेशमा यसलाई अभियानको रूपमा चलाएर हरेक वर्षको चैत २८ लाई राष्ट्रिय मही दिवसको रूपमा मनाउने घोषणा समेत गरेको छ ।
यसरी पायो अभियानले सार्थकता
विगत केही वर्षयता कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग र अन्य सम्बन्धित निकायहरू दूध तथा दुग्धजन्य पदार्थको उपभोग प्रवर्धन गर्न निरन्तर सक्रिय छन् ।
‘दुध पिउँ, स्वस्थ बनौँ’ भन्ने मूल सन्देशका साथ दही, लस्सी, चिया र महीजस्ता परिकारहरूलाई लोकप्रिय बनाउन विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका थिए।
यिनै प्रयासहरूको सिलसिलामा एक दिन नेपाल डेरी एसोसिएसनको अध्यक्ष एवम् मोही अभियानकर्ता प्रल्हाद दाहालको मनमा एउटा नयाँ विचार जन्मियो,’ कही सार्वजनिक स्थानमा ठेकीमै मोही खुवाउन पाए त, साँच्चिकै हिट होला कि?’ यही सरल तर सशक्त सोचबाट सुरू भयो मोहीको पुनर्जागरण अभियान ।
यो सोच तत्काल व्यवहारमा रूपान्तरण गरियो र २०८० साल साउन १ गते काठमाडौँको दरबारमार्गस्थित ओरिएन्ट क्याफेमा सञ्चालनमा रहेको ‘रैथाने एग्रो प्रोडक्ट मेला’ बाट उक्त अभियान सुरू गरियो जसबाट औपचारिक रूपमा ‘मही अभियान’को सुरुवात भयो ।
महीलाई केवल परिकारको रूपमा होइन, संस्कार र स्वास्थ्यसँग जोडिएको वैकल्पिक पेयको रूपमा पुनःस्थापित गर्ने दिशामा पाइला चालेको र उक्त अभियानले सार्थकता पाएकाे एसोसिएनका अध्यक्ष दाहाल बताउँछन् ।
मही प्रवर्धन लामो समयदेखि सक्रिय एसोसिएसनले रैथाने कृषि उपज बिक्री केन्द्रमा हरेक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म परम्परागत शैलीमा ठेकी मही मथेर निःशुल्क मोही वितरण गर्दै आएको छ । यो अभ्यास अहिलेसम्म ८५ हप्तासम्म लगातार जारी छ।

त्यतिमात्र नभएर सुरूवातमै व्यावसायिक डेरी उद्योगहरूको उत्साहजनक सहभागिता देखियो । जसले गर्दा पोखराको बजगाईं डेरीले ‘सञ्जीवनी’ ब्रान्डमा मोही उत्पादन गर्दै बजारमा ल्यायो । त्यसपछि कपिलवस्तुस्थित ग्लोबल डेरीले ‘बुद्धभूमि’ नामक ब्रान्डमा मोही सार्वजनिक गर्यो ।
यी ब्रान्डहरूको सफलता देखेर अन्य डेरीहरू पनि मोही व्यवसायमा सक्रिय हुन थाले र हाल पोखराकै एस एन्ड एस डेरीले ‘दर्पण’, चितवनको पवन डेरीले ‘विजय’, कोशी प्रदेशको श्री साझा डेरीले ‘साझा’ ब्रान्डमा मोही उत्पादन गरिरहेका छन्।
त्यसैगरि ललितपुरको नवप्रभात डेरी, धनकुटाको राजु डेरी, झापाको पूर्वाद्र्ध डेरी, बुटवलको शिवगंगा डेरी, रूपन्देहीको लस्कुन डेरी र अन्य डेरीहरूले पनि आ–आफ्ना ब्रान्डमार्फत मोहीलाई बजारमा उतारिसकेका छन् ।
हिजोका दिनमा मोहीलाई ‘गाउँले खाने कुरा’ भनेर हेला गरिने गर्दथ्यो तर आज त्यही मोही सोसल मिडियाका भिडियोहरूमा ‘ट्रेन्डिङ’ बन्न थालेको एसोसिएनका अध्यक्ष दाहाल बताउँछन् ।
मही पिउँदाको अनुभव सार्वजनिक गर्दै स्वास्थ्यप्रेमी युवादेखि बुबाआमा, विद्यार्थी र कर्मचारीसम्म यसलाई आफ्नो जीवनशैलीमा समावेश गर्न थालेको उनले बताए ।
गाउँदेखि सहरसम्म बढ्दै लोकप्रियता
महीको पुनरागमनको कथा अब केवल गाउँघरमा सीमित छैन। यो स्वाद र संस्कारको यात्रा सहरका गल्ली, प्रतिष्ठित रेस्टुरेन्ट र आधुनिक क्याफेहरूसम्म आइपुगेको छ।
पहिले झैँ खेतपाखामा काम गरेर फर्किएकाहरूको थकान मेटाउने परिकारको रूपमा मात्रै नभई अब यो सहरका युवाहरूको ‘हेल्दी लाइफस्टाइल’ को अङ्ग बन्दै गएको छ।
सहरका बासिन्दा स्वास्थ्यप्रति सजग हुँदै जाँदा रासायनिक पेयहरूबाट टाढा हुँदैछन्। यही क्रममा उनीहरूले बाल्यकालको स्वाद सम्झाउने, सुपाच्य र ऊर्जा दिने परिकारको रूपमा मोही रोज्न थालेका छन्।
विशेषतः बिहानको व्यस्त समय, गर्मीयामको चर्को घाम वा जिमपछि शरीरलाई स्फूर्ति दिने पेयको रूपमा मोहीले नयाँ पहिचान पाउन थालेको छ।

गत फागुन ६ गते काठमाडौँको थापागाउँस्थित एक विवाह समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी स्वयंले मही पिउँदै कृषि उत्पादनप्रति समर्थन जनाएका थिए भने स्वदेशी उत्पादनप्रति राज्यको प्रतिबद्धताको सन्देश समेत दिएको थियो ।
सरकारले पनि पछिल्ला वर्षहरूमा स्वदेशी उत्पादन, कृषि प्रवर्धन र उपभोक्तामा स्वास्थ्य चेतना अभिवृद्धिका लागि नीति निर्माणमा जोड दिँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले डेरी एसोसिएसनले सञ्चालन गरेको मोही अभियानले सार्थकता पाउँदै गएको उल्लेख गर्दै यो अभियान अब देशव्यापी रूपमा फैलिने विश्वास व्यक्त गरे।
डेरी उद्योगहरूअहिले महीलाई आधुनिक बजारमा प्रतिस्पर्धी बनाउन लेबलिङ, प्याकेजिङ र ब्रान्डिङको माध्यमबाट प्रस्तुत गरिरहेका छन्। परम्परागत स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने यो प्रयासले बजारमा सस्तो तर अस्वस्थ विकल्प बनेका रासायनिक पेयहरूसँगको प्रतिस्पर्धा सम्भव बनाएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले मही अभियानले डेरी क्षेत्रका समस्याहरूको समाधानमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यस अभियानको खास सार बिक्री वृद्धिमा मात्र सीमित छैन। यो अभियान किसानको मेहनत, उद्योगीको दृष्टिकोण र उपभोक्ताको चेतनालाई एउटै धागोमा गाँस्ने प्रयास गरेकाे छ ।
कृषकको उत्पादनलाई सदुपयोग गर्दै उद्योगले स्थानीय स्वादलाई मूल्य वृद्धिसहित बजारमा पठाएको छ जसले उपभोक्तालाई स्वस्थ विकल्प दिएको छ ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक पशुपति ढुंगानाले हाल उत्पादित दूधको पूर्ण खपत हुन नसकेको अवस्थामा महीजस्तै अन्य दुग्ध उत्पादनलाई विकल्पका रूपमा विकास गर्न सकिने बताउँदै भविष्यमा संस्थानले यसतर्फ ध्यान केन्द्रित गर्ने बताए।
मोही अब केवल गाउँमा, लुकीछिपी पिइने परिकार होइन। यो खुला मञ्चमा, सामाजिक गर्वका साथ पिइने पेय बन्दै गएको छ। मोही अभियानकर्ता दाहालका अनुसार लुकेर पिइने मोही अब शानले फोटो खिच्दै पिइने पेय बनेको छ।
उपयोग बढ्दै
देशभर फैलिएका करिब दुई दर्जन डेरी उद्योगहरूले हाल मोहीलाई व्यावसायिक रूपमा नयाँ स्वरूपमा प्रस्तुत गर्दै आएका छन् । आकर्षक लेबलिङ र प्याकेजिङसहित मही बजारमा उतारिएपछि यसको उपभोगमा उल्लेखनीय वृद्धि देखिएको छ ।
नेपाल डेरी एसोसिएसनका अनुसार हाल दैनिक झण्डै २५ हजार लिटर मोही प्याकेजिङ गरेर औपचारिक रूपमा बजारमा बिक्री भइरहेको छ । अझै करिब १ लाख लिटर मोही अनौपचारिक रूपमा साना डेरी, स्थानीय बजार र गाउँघरमा नियमित रूपमा उपभोग भइरहेको अनुमान गरिएको छ ।
महीको लोकप्रियता र स्वास्थ्यप्रति आम जनमानसको आकर्षणलाई थप बल दिन एसोसिएसनले चैत २८ गते ‘नियमित मही सेवन, स्वस्थ र फूर्तिलो जीवन’ भन्ने नारासहित देशव्यापी रूपमा मोही दिवस मनाउँदा भविष्यमा यसले थप सार्थकता पाउने अध्यक्ष दाहालले बताए ।
उनले भने, “यो दिवसले मोहीलाई केवल परिकारको रूपमा होइन, जीवनशैलीसँग गाँसिएको खाद्यसंस्कृतिको अङ्गको रूपमा पुनस्र्थापित गर्ने अभियानलाई थप गहिरो बनाएको छ।”

हालसम्म ८५ हप्तासम्मको अवधिमा करिब २५ हजार लिटर मोही झण्डै २ लाख जनाले निःशुल्क स्वाद लिइसकेका छन् । नेपाल डेरी एसोसिएसनका अनुसार यो प्रयासमार्फत समाजमा करिब २० लाख रुपैयाँ बराबरको मोही निःशुल्क वितरण गरिएको छ ।
यो नियमित अभियान र स्वादको पुनरागमनले आम जनमानसमा महीप्रतिको सोचमा ठुलो परिवर्तन ल्याएको मही अभियानका अगुवा तथा नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहाल बताउँछन्।
हाल सहरी क्षेत्रमा खुला रूपमा ४० देखि ५० रुपैयाँ प्रतिलिटरमा मही पाइन्छ भने प्याकेजिङ र लेबलिङ गरिएको महीको मूल्य बढीमा ९० रुपैयाँ प्रतिलिटर पर्ने एसोसिएसनले जनाएको छ ।
स्वास्थ्यप्रेमीहरूका लागि मोहीले अब विकल्प होइन, प्राथमिकता ओगट्न थालेको छ। आधुनिक उपभोक्ताको जीवनशैलीमा परम्परागत स्वाद घुलिन थालेको यो क्रमले नेपाली डेरी उद्योगलाई पनि आन्तरिक बजारमा पुनर्जागृत गरिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्