टीकाबहादुर बस्नेत
जब सूर्यको पहिलो किरणले हिमालका सेता शिखरलाई चुम्छ, तब नयाँ आशा र सम्भावनाको कथा जन्मिन्छ । २०८१ साल यस्तै एउटा वर्ष थियो—जसले नेपाल र विश्वलाई अवसरको उज्यालो र सङ्कटको गहिरो छायाँ दुवै उपहार दियो । वैशाख १ गते, इस्वी सन् २०२५ को पहिलो पाइलाले गेग्रोरी पात्रोको नयाँ पाना पल्टायो र यो वर्ष इतिहासको क्यानभासमा गहिरा रङले भरियो । वर्ष २०८१—नेपालको गर्व, विश्वको उथलपुथल र मानवताको अटल सङ्घर्षको वर्ष बन्यो ।
नेपालको गर्व, स्वाभिमान र चुनौती
नेपालका लागि २०८१ साल गर्व, स्वाभिमान र चुनौतीको मिश्रित अनुभव बोकेर आयो । वैशाख १ गते हिमाल आरोही निर्मल पुर्जाले ८,००० मिटरभन्दा अग्ला शिखरमा ४४औँ पटक पाइला राख्दै विश्व कीर्तिमान रचेर नेपाली साहसलाई विश्वमाझ चिनाए । वैशाख २० गते राष्ट्र बैंकले सय रुपैयाँको नयाँ नोटमा ‘चुच्चे नक्सा’ छाप्ने निर्णयले राष्ट्रिय स्वाभिमानलाई नयाँ उचाइ दियो । जेठ १ गते स्वीकृत १६औँ राष्ट्रिय योजनाले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिँदै समृद्ध नेपालको स्पष्ट खाका प्रस्तुत गर्यो । जेठ १५ गते सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गर्दा विकासका आशाहरू उजागर भए ।
यद्यपि, राजनीतिक अस्थिरताले यी उपलब्धिहरूलाई पूर्णता दिन सकेन । असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँ पटक विश्वासको मत गुमाएपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्यो । तर, असोज १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै नेपालको आवाज विश्वसामु पुर्याए । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनले ४१ स्थानमा नयाँ स्थानीय नेतृत्व सुनिश्चित गर्यो । मंसिर १७–२० गते ओलीको चीन भ्रमणले बीआरआईमार्फत आर्थिक सहकार्यको ढोका खोल्यो ।
खेलकुदमा २०८१ साल अविस्मरणीय बन्यो । जेठ ९ गते कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक आरोहण गरेर कीर्तिमान कायम गरे । तर, साउन ९ गते सौर्य एअरको जहाज दुर्घटनामा १८ जनाको निधनले देश शोकमा डुब्यो । यी घटनाहरूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाए, तर दुःखद् क्षणहरूले हाम्रो आत्मालाई पनि झस्कायो ।
विश्वः आशा र सङ्कटको दोहोरो छायाँ
विश्वका लागि २०८१ साल आशा र सङ्कटको दोहोरो रङ बोकेर आयो । इजरायल–प्यालेस्टाइन युद्ध चरममा पुग्दा गाजामा ४५,००० भन्दा बढीले ज्यान गुमाए र मानवताका पक्षमा उठेका आवाजहरूले आकाश गुन्जायो । बङ्गलादेशमा सेख हसिनाको बहिर्गमनले दक्षिण एसियाली राजनीति अस्थिर बनायो । सिरियामा बसर अल–असदको पतन र हयात ताहरिर अल सामको उदयले मध्यपूर्वको शक्ति सन्तुलन हल्लायो । अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले विश्व राजनीतिमा ध्रुवीकरणको नयाँ चरण सुरु गर्यो ।
जलवायु परिवर्तनले पृथ्वीलाई थप असुरक्षित बनायो। रेकर्ड तोड्ने तापक्रम, डढेलो, समुद्री आँधी र बाढीले मानव जीवन र जैविक विविधतामाथि गम्भीर चुनौती थप्यो । यो वर्षले जलवायु सङ्कटलाई गम्भीरतासाथ लिनुपर्ने सन्देश विश्वलाई दियो ।
राजनीतिक मोड : उथलपुथल र सम्भावना
नेपालको राजनीतिमा २०८१ सालले स्थायित्व र अस्थिरता दुवैको स्वाद चखायो । वैशाख ११–१२ गते कतारका राजा शेख तमिम हमाद अल थानीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दियो । वैशाख २० गते ‘चुच्चे नक्सा’ नोटको निर्णयले भू–राजनीतिक सन्देश प्रवाह गर्यो । जेठ ७ गते दाहालले चौथो पटक विश्वासको मत पाए, तर असार २८ गते पाँचौँ पटक असफल भए । साउन ६ गते रमेश बडाल महान्यायधिवक्ता बने, भदौ ६ गते टिकटकमाथिको प्रतिबन्ध हट्यो र भदौ १३ गते एकनारायण अर्याल मुख्यसचिव नियुक्त भए ।
विक्रम संवत २०८१ नेपाली राजनीतिमा सत्ता परिवर्तन, दलगत सहमति, आन्दोलन र कानुनी विवादहरूको वर्ष बन्यो । यो वर्षको सबैभन्दा चर्चित र बहसित घटनाक्रम असार १७ गते राति चपलीहाइटस्थित व्यवसायी रामेश्वर थापाको निवासमा भएको सातबुँदे सहमति रह्यो, जसको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री बने । नेपाली कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्रीको सहमतिले राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । विरोधका स्वरहरू माओवादी केन्द्र र अन्य साना दलहरूबाट उठे, तर संसद्को अंकगणितले ओलीलाई प्रधानमन्त्री बनायो ।
यही वर्ष रास्वपा अध्यक्ष रवि लामिछाने दुई पटक पक्राउ परे । सहकारी अपचलनको मुद्दामा पहिलोपटक कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनले ८० दिन थुनामा बिताए । पुनः चैत २२ गते उच्च अदालतको आदेशमा उनलाई फेरि थुनामा लिइयो । ग्यालेक्सी टेलिभिजनसँग जोडिएका विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई संलग्न देखिएको अनुसन्धानमा खुलेको छ ।
चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्यो । प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट भयो भने फोटो पत्रकार सुरेश रजक र सबिन महर्जनको मृत्यु भयो । पूर्वपञ्च र राजावादीहरूको यो आन्दोलनले गणतन्त्र पक्षधर दलहरूलाई पनि सजग बनायो । सोही दिन माओवादी केन्द्रलगायत समाजवादी मोर्चाले भृकुटीमण्डपमा शान्तिपूर्ण खबरदारी सभा आयोजना गरेका थिए । तीनकुने घटनामा विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईंको संलग्नता देखिएको थियो, जसलाई चैत २८ गते भारतको आसामबाट पक्राउ गरियो ।
पुस र माघ महिनामा सरकारले संसद् नबोलाई ६ वटा अध्यादेश ल्यायो, जसले विपक्षी दलहरूको कडा विरोध निम्त्यायो । भूमिसम्बन्धी अध्यादेश सत्तारूढ दलकै असहमतिको कारण पास हुन सकेन । बाँकी पाँच अध्यादेश कानुन बने । यस्तै, ओली सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हल्लाले राजनीतिक तनाव चुलियो, यद्यपि त्यो अध्यादेश अन्ततः आएन । कुलमान घिसिङको बर्खास्ती अर्को चर्चित राजनीतिक निर्णय बन्यो ।
प्रतिपक्षीले सडकदेखि सदनसम्म उनको समर्थन गरे पनि सरकारले उनलाई चैत १८ गते हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्यो । प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीचको भेटपछिको निर्णयलाई ‘टीआरसी साटफेर’ को आरोप पनि लाग्यो, जुन माओवादी केन्द्रले खारेज गर्यो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को पुनः राजनीतिमा प्रवेश पनि चर्चामा रह्यो । पासाङ माओवादीको केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षसम्म बने भने भण्डारी राजनीतिक भेटघाट र भ्रमणमा सक्रिय देखिइन् तर पार्टी राजनीतिमा खुलेर संलग्न भइसकेकी छैनन् । माघ १५ गते इलाम–२ मा भएको उपनिर्वाचनमा सुवास नेम्वाङको निधनपछि उनका छोरा सुहाङ नेम्वाङ एमालेबाट विजयी भए र राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको प्रवेशका रूपमा चिनिए ।
वर्षको अन्त्यमा चैत १९ गते राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भयो । पञ्चायतकालदेखि गणतन्त्रसम्म मन्त्री बनेका बोहोराले रुपन्देहीको विकासमा महत्वपूर्ण योगदान दिएका थिए । साथै, वर्षभरि अन्य धेरै राजनीतिक गतिविधि देखिए—हिक्मतकुमार कार्की कोशी प्रदेशमा तेस्रोपटक मुख्यमन्त्री बने, गण्डकीमा अदालतले पाण्डेलाई मुख्यमन्त्री बनायो, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री फेरिए । भदौमा गोर्खा मिडियाविरुद्ध संसदले छानबिन सिफारिस ग¥यो, पुसमा रवि लामिछानेको सांसद पद निलम्बन गरियो र चैतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र शिक्षकहरूको आन्दोलन देखिए ।
यसरी २०८१ साल नेपाली राजनीतिमा सत्ता समीकरणको पुनर्संरचना, भ्रष्टाचारविरुद्धको बहस, आन्दोलन र नेतृत्वगत बदलावको वर्ष बन्यो । सत्ता र जनताको सम्बन्ध थप जटिल बन्दै गएको, विश्वासको संकट झनै गहिरिँदै गएको संकेतहरू यस वर्षका घटनाक्रमहरूले देखाए ।
खेलकुदका सुनौला पलहरू
२०८१ साल खेलकुदको उज्यालो चमकले भरिएको ऐतिहासिक वर्ष बन्यो, जहाँ नेपाली खेलकुदले अन्तर्राष्ट्रिय पहिचान बनायो र विश्वले खेलकुदको एकता, प्रतिस्पर्धा र संकल्पको उत्सव मनायो । वर्षको पहिलो दिन वैशाख १ गते, क्रिकेटर दीपेन्द्र सिंह ऐरीले कतारविरुद्ध टी–२० खेलमा एकै ओभरमा छ छक्का प्रहार गर्दै कीर्तिमान बनाए, जसले नेपाली क्रिकेटको आक्रमणशैली र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय ध्यानमा ल्यायो ।
त्यसपछि, जेठ ९ गते कामिरिता शेर्पाले सगरमाथाको २९ औँ पटक सफल आरोहण गर्दै आफ्नै कीर्तिमानलाई नवीकरण गरे, जसले साहस, धैर्य र पर्वतारोहणमा नेपालको अग्रणी हैसियतलाई झल्कायो । उनीपछिकै दिन, जेठ १० गते फुन्जो शेर्पाले १४ घण्टा ३१ मिनेटमै सगरमाथा चढेर महिलाको तर्फबाट नयाँ विश्व रेकर्ड कायम गरिन्, जसले नेपाली महिलाहरूको साहस र सामथ्र्यलाई उजागर गर्यो ।
असार ३ गते सन्दीप लामिछानेले टी–२० क्रिकेटमा १०० विकेट पुरा गर्दै नेपालको बलिङ इतिहासमा कोसेढुङ्गा थपे । असोज २३ गते निमारिन्जी शेर्पाले ८,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्दै पर्वतारोहणको क्षेत्रमा अर्को गर्विलो उपलब्धि हासिल गरे। कार्तिक महिनामा सम्पन्न भएको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेर महिला खेलाडीहरूको क्षमताप्रति जनविश्वास बढायो । माघ ५ देखि २० गतेसम्म युगान्डामा आयोजित महिला टी–२० सिरिजमा नेपालको टोलीले शानदार प्रदर्शन गर्दै सिरिज जित्यो, जुन नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय विकास र समर्पणको प्रमाण बन्यो ।
अर्कोतर्फ, विश्व खेलकुदले पनि २०८१ साललाई अविस्मरणीय बनायो। सन् २०२५ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित ग्रीष्मकालीन ओलम्पिकले सम्पूर्ण विश्वका खेलप्रेमीहरूको ध्यान तानेर खेलकुदको भव्यता, एकता र प्रतिस्पर्धाको अनुपम उदाहरण प्रस्तुत गर्यो । विभिन्न राष्ट्रका खेलाडीहरू एउटै मञ्चमा उत्रिए, जहाँ नयाँ कीर्तिमानहरू बने, पुराना रेकर्डहरू तोडिए र उत्कृष्टताको उत्सव मनाइयो । ओलम्पिकले न केवल खेलाडीहरूको कौशल र समर्पणको सम्मान गर्यो, तर खेलकुदलाई शान्ति, सहकार्य र मानवता जोड्ने माध्यमको रूपमा पनि स्थापित गर्यो ।
यसरी, २०८१ सालले नेपाल र विश्व दुवैका लागि खेलकुदमा इतिहास रच्ने, प्रेरणा दिने र एकताको सन्देश प्रवाह गर्ने वर्षका रूपमा आफूलाई सुनौलो अक्षरले दर्ज गरायो ।
प्राविधिक र वैज्ञानिक उचाइहरू
२०८१ साल प्राविधिक र वैज्ञानिक उपलब्धिहरूको दृष्टिले नेपाल र विश्व दुवैका लागि उज्यालो युगको संकेतक बन्यो । प्रविधिको प्रयोग, वैज्ञानिक अनुसन्धान र नवीन आविष्कारहरूका माध्यमबाट मानव क्षमताको सीमा विस्तार भयो । नेपालमा हिमाल आरोही निर्मल पुर्जाले वैशाख १ गते ८,००० मिटरभन्दा अग्ला शिखरमा ४४ औँ पटक पाइला राखेर साहस र प्राविधिक सहायता दुवैको संयोजनमार्फत् नयाँ कीर्तिमान कायम गरे। यस उपलब्धिले केवल साहसिकताको इतिहास रचेन, बरु प्रविधि–सहयोगित मानव संकल्पको जीवन्त प्रमाण बन्यो ।
भदौँ ११ गते सार्वजनिक गरिएको ‘जेनोप्लान’ प्रणालीले १,००० भन्दा बढी रोग पत्ता लगाउने सम्भावनाको घोषणा गर्दै स्वास्थ्य प्रविधिमा नयाँ क्रान्तिको संकेत गर्यो । त्यसको केही दिनमै, भदौँ १४ गते काठमाडौँ विश्वविद्यालयमा ग्रिन हाइड्रोजन केन्द्रको उद्घाटन गरियो, जसले नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालको पहिचान निर्माणको थालनी गर्यो । असोज १४ गते सरकारद्वारा स्वीकृत विपद् जोखिम न्यूनीकरण रणनीतिले जलवायु, भूकम्प वा अन्य प्राकृतिक प्रकोपसँग जुध्न वैज्ञानिक दृष्टिकोणलाई संस्थागत बनायो ।
विश्व स्तरमा पनि यो वर्ष विविध प्राविधिक आविष्कार र वैज्ञानिक अन्वेषणको ऐतिहासिक कालखण्ड रह्यो । न्युरालिङ्कले मानव दिमागमा चिप जडान गरेर जैविक र डिजिटल अन्तरसम्बन्धको नयाँ अध्याय सुरु ग¥यो, जसले मानिस र मेसिनबीचको दूरी झनै घटाउने सम्भावना देखायो । जापानले चन्द्रमामा (SLIM (Smart Lander for Investigating Moon) को सफल अवतरण गर्यो, भने चीनले चन्द्रमाबाट माटोको नमूना सङ्कलन गर्दै अन्तरिक्ष खगोलअन्वेषणमा अग्रसरता देखायो ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा सूक्ष्मजीवी जीवनको सम्भावित प्रमाण भेट्टाएर वैज्ञानिक इतिहासमै क्रान्तिकारी मोड ल्यायो । स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगबाट विश्वका केही मुलुकहरूमा पूर्णतः एआईद्वारा सञ्चालन हुने अस्पताल सुरु गरिए, जसले स्वास्थ्य सेवा सरल, सस्तो र पहुँचयोग्य बनाउने दिशामा ठूलो फड्को मार्यो । यातायात क्षेत्रमा स्टियरिङबिनाविहीन ट्याक्सीको व्यावसायिक प्रयोगले सहरी जीवनशैलीमा प्रविधिको सीधा असर देखायो ।
साथै, एआई उद्योगको विश्व बजार १८४ अर्ब अमेरिकी डलर पुग्यो, जसले यसको प्रभाव र व्याप्तिलाई प्रस्ट पारे । बिटक्वाइनको मूल्य एक लाख डलर नाघेर डिजिटल मुद्राको अर्थशास्त्रमा क्रान्ति ल्यायो, यद्यपि क्राउडस्ट्राइक सर्भर शटडाउनले साइबर सुरक्षा सम्बन्धी गम्भीर चिन्ताहरू उजागर ग¥यो । यी सबै घटनाक्रमले प्रविधिको शक्ति र जोखिम दुवैको साक्षात्कार गरायो ।
यसरी २०८१ सालले नेपाललाई ऊर्जामा आत्मनिर्भरता, स्वास्थ्यमा प्रविधि र आपद् व्यवस्थापनमा रणनीतिक दृष्टिकोणको सुरुवात गरायो भने विश्वलाई अन्तरिक्ष अनुसन्धान, जैविक प्रविधि र कृत्रिम बौद्धिकता (एआई) मार्फत एक नयाँ युगतर्फ उन्मुख गरायो । यी उपलब्धिहरूले विज्ञान र प्रविधिको उज्यालो बाटोमा मानवता अग्रसर भइरहेको सन्देश विश्वभर प्रवाह ग¥यो ।
आर्थिक र पर्यटन सम्भावनाहरू
२०८१ साल नेपालको आर्थिक र पर्यटन क्षेत्रका लागि आशा, अवसर र सुधारको वर्ष बन्यो । वर्षको प्रारम्भमै वैशाख १ गते ठमेल क्षेत्रलाई २४ घण्टा खुला राख्ने निर्णयले नेपालमा रात्रीकालीन पर्यटनको नयाँ ढोका खोल्यो, जसले देशको शहरी पर्यटनलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ लैजान सक्ने सम्भावना देखायो । वैशाख १६ र १७ गते काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनमा ५५ देशका प्रतिनिधिहरूले भाग लिए, जसमा ऊर्जा, पूर्वाधार र पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको गम्भीर छलफल र प्रतिबद्धता व्यक्त गरियो । यस्ता सम्मेलनहरूले नेपाललाई विश्व आर्थिक नेटवर्कमा जोड्न सहयोग पुर्याएको छ ।
जेठ १५ गते नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक गाभ्ने सरकारी घोषणाले नेपालको बैंकिङ क्षेत्रलाई दीर्घकालीन संरचनागत सुधारतर्फ डोर्याउने संकेत गर्यो । यस निर्णयले राज्यको स्वामित्वमा रहेका बैंकहरूलाई थप सुदृढ बनाउँदै वित्तीय क्षेत्रको पारदर्शिता र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि ल्याउने अपेक्षा गरिएको छ । पुस ९ देखि १७ गतेसम्म पोखरामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्दै नेपालको साहसिक पर्यटन र हवाई खेलकुदलाई विश्वसामु चिनाउने काम गर्यो । यसले पोखरा क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बलियो आधार तयार गर्यो ।
नेपालको समग्र आर्थिक परिदृश्य हेर्दा वर्षको सुरुवातमा निराशाजनक देखिएको अवस्था अन्त्यतिर आइपुग्दा सकारात्मक संकेतहरू देखापरेका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को आठ महिनासम्मको तथ्यांक सार्वजनिक गर्दै मुद्रास्फीति, निर्यात, आयात, विप्रेषण र विदेशी मुद्राको सञ्चितिमा सुधार आएको उल्लेख गरेको छ । उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित रहँदा अघिल्लो वर्षको ४.८२ प्रतिशतको तुलनामा यो गिरावट उपभोक्ता पक्षका लागि राहतको संकेत हो ।
यस अवधिमा वस्तु निर्यातमा ५७.२ प्रतिशतको उल्लेखनीय वृद्धि हुँदै १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ, जुन निर्यात क्षेत्रको पुनरुत्थानको संकेतक हो । वस्तु आयातमा पनि ११.२ प्रतिशतले वृद्धि हुँदै ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । भारत, चीन र अन्य मुलुकहरूबाट आयात क्रमशः ७.९, १२.५ र २०.६ प्रतिशतले वृद्धि भएको छ । यी तथ्यांकहरूले व्यापारिक गतिशीलता, औद्योगिक क्रियाकलाप र उपभोग प्रवृत्तिमा परिवर्तनको सङ्केत गर्छन् ।
विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ, जसले नेपाली विदेशी रोजगारमा आश्रित अर्थतन्त्रको मेरुदण्डलाई अझ सशक्त बनाएको देखिन्छ । यही आधारमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड बचतमा रहनु, चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहनु र कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि हुँदै २४ खर्ब ९ अर्ब २५ करोड पुग्नु सकारात्मक अर्थतन्त्रको बलियो सूचक हुन् । अमेरिकी डलरमा विनिमय सञ्चिति १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ, जुन नेपालले आयातमा निर्भर अर्थतन्त्रका लागि विशेष राहत हो ।
सरकारको कुल खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ भने राजस्व सङ्कलन ७ खर्ब २० अर्ब ३५ करोडमा सीमित भएको छ । विस्तृत मुद्रा प्रदाय ४.८ प्रतिशतले र निक्षेप संकलन ४.३ प्रतिशतले वृद्धि भएको अवस्थामा निजी क्षेत्रलाई प्रवाहित कर्जा पनि ६ प्रतिशतले बढेको देखिन्छ, जसले अर्थतन्त्रमा तरलता प्रवाह र लगानीमैत्री वातावरण निर्माण भएको संकेत दिन्छ ।
विश्व सन्दर्भमा हेर्दा, २०८१ सालमा ८० भन्दा बढी देशमा निर्वाचन सम्पन्न हुनु विश्वव्यापी राजनीतिक स्थायित्वको परीक्षण मात्र होइन, आर्थिक गतिविधिमा पनि प्रत्यक्ष प्रभाव पार्ने घटना बन्यो। राजनीतिक नेतृत्वमा भएका परिवर्तनहरूले अन्तर्राष्ट्रिय व्यापार, लगानी नीति, र आपूर्ति शृङ्खलालाई समेत प्रभाव पार्ने गरी वित्तीय बजारमा उतारचढाव ल्याएका थिए ।
यसरी २०८१ साल नेपालको आर्थिक र पर्यटन इतिहासमा अवसर, सुधार र विश्वव्यापी एकीकरणको आधार तयार गर्ने वर्षका रूपमा चिनिने सम्भावना बोकेको छ । यो वर्षले देशको आर्थिक संरचनालाई स्थायित्व, पारदर्शिता र समावेशी विकासतर्फ उन्मुख गराउने संकेत मात्र दिएको छैन, पर्यटन र लगानीको नयाँ अध्याय पनि खोलिदिएको छ ।
प्राकृतिक विपत र जलवायु संकट
प्राकृतिक विपत्ति र जलवायु परिवर्तनले यो वर्ष नेपाल र विश्वलाई गम्भीर चुनौती दियो । साउन ९ गते सौर्य एअरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भयो, जसले विमान सुरक्षामाथि प्रश्न उठायो । वि.सं. २०८१ नेपालका लागि जलवायु संकट र प्राकृतिक विपत्तिको चेतावनीमूलक वर्षका रूपमा सम्झनलायक रह्यो, जहाँ बाढी, पहिरो, हिमताल विस्फोट, अस्वाभाविक वर्षा र सहरी डुबानजस्ता घटनाले जनधनमा भयावह क्षति पुर्यायाे । सिमलतालमा डेब्रिज फ्लोका कारण दुई बस त्रिशूलीमा खस्दा ५९ जनाको ज्यान गयो भने सोलुखुम्बुको थामेमा तापक्रम वृद्धिपछि आएको बाढीले गाउँ नै बगरमा परिणत गर्यो । काठमाडौँ उपत्यकामा असोज १०–१२ मा आएको डुबानले २५० जनाको मृत्यु, ६ हजार घरमा क्षति र सहरी पूर्वाधारको जर्जर अवस्था उजागर गर्यो । दोधारा, हनुमाननगर र सुन्दरपुरमा असार २४ मा मापन गरिएको रेकर्ड तोड्ने वर्षा जलवायु परिवर्तनको स्पष्ट संकेत थियो ।
वर्षभरिमा पहिरो, बाढी, हावाहुरी र हिमपहिरोले ४५० जनाभन्दा बढीको ज्यान गयो, हजारौं घाइते वा विस्थापित भए । अन्तर्राष्ट्रिय रूपमा जर्मन वाचको सूचकांकले नेपाललाई जलवायु संकटको अग्रपंक्तिको देश मानेको छ । यसले स्पष्ट बनायो कि नेपालजस्ता हिमाली राष्ट्रलाई दीर्घकालीन जलवायु रणनीति, वैज्ञानिक पूर्वानुमान, जनचेतना र स्थानीय तहको सशक्त सहभागिता बिना सुरक्षित भविष्य सम्भव छैन ।
२०८१ सालले अब जलवायुअनुकूल संरचना, बहुस्तरीय सहकार्य र विज्ञानमा आधारित निर्णय प्रणालीमा रुपान्तरणको आवश्यकता औंल्याएको छ, जुन सन्देश तत्काल र दीर्घकालीन रणनीतिका लागि अत्यन्तै महत्वपूर्ण छ ।
कार्तिक ३ र ४ गते कर्णालीको रारामा जलवायु परिवर्तन कार्यशाला सम्पन्न भयो, जसले नेपालमा जलवायु जोखिमसँग जुध्ने रणनीति बनायो । पुस २३ गते चीनको सिगात्सेमा गएको ७.१ रेक्टरको भूकम्पले नेपालमा पनि क्षति पुर्यायो । विश्वमा सन् २०२४ मा जलवायु परिवर्तनले अभूतपूर्व तापक्रम र चरम मौसम ल्यायो । जापानको नोतो प्रायद्वीपमा गएको भूकम्पले २५० जनाको ज्यान लियो । अफगानिस्तान, पाकिस्तान, ब्राजिल, स्पेन र केन्यामा बाढीले ठूलो जनधनको क्षति गर्यो भने पपुवा न्युगिनीमा पहिरोले छ सयभन्दा बढीको मृत्यु भयो । अमेरिकामा २४ प्राकृतिक प्रकोपले एक अर्ब डलरभन्दा बढी नोक्सान पुर्यायो । सुडानको गृहयुद्धले ६१ हजारभन्दा बढीको मृत्यु र ७७ लाखलाई आन्तरिक रूपमा विस्थापित गर्यो, जसले मानवीय सङ्कटलाई गहिरो बनायो ।
शिक्षा र जैविक विविधताका उपलब्धिहरू
२०८१ साल नेपालका लागि शिक्षा र जैविक विविधताका क्षेत्रमा उल्लेखनीय पहलहरू भएको वर्ष रह्यो । वर्षको उत्तरार्धमा, मंसिर १२ गते जुम्ला ६६ औँ साक्षर जिल्ला बनेपछि देशको साक्षरताका प्रयासहरू नयाँ उचाइमा पुगे । यसले राष्ट्रिय साक्षरता अभियानको सफलता मात्र होइन, दुर्गम भूगोलमा शिक्षाको पहुँच बढ्न थालेको संकेत पनि दियो । कार्तिक २० गते नेपाल विश्वविद्यालयको औपचारिक घोषणा गरिएको थियो, जुन सरकारले २०७९ मंसिर २० गते दर्ता गरेको विधेयकको आधारमा स्थापना गरिएको हो ।
यो विश्वविद्यालय २०७८ सालमा संसद्मा दर्ता गरिएपछि २०८१ मा विधायिकाबाट पारित भई कार्यान्वयनको चरणमा पुगेको छ । यो गैरसरकारी प्रकृतिको विश्वविद्यालयमा प्रधानमन्त्री वा शिक्षा मन्त्रीको संलग्नता नरहने र प्राज्ञिक व्यक्ति कुलपतिका रूपमा रहने व्यवस्था गरिनुले शिक्षा क्षेत्रमा अकादमिक स्वतन्त्रता र गुणस्तरको आशा जगाएको छ। नेपालमा अहिले १४ वटा विश्वविद्यालय क्रियाशील छन्, र यो नयाँ विश्वविद्यालयले उच्च शिक्षाको विविधता र प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।
फागुन ७ गते देशभर पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी भएर सुरु भएको एसईई परीक्षाले माध्यमिक तहको शिक्षा निरन्तर सञ्चालनमा रहेको सन्देश दियो । यसैबीच, चैत महिनामा शिक्षण पेशामा असन्तुष्टि देखिँदै शिक्षकहरू आन्दोलनमा उत्रिए । चैत २० गतेदेखि सुरु भएको आन्दोलन शिक्षकहरूले शिक्षा ऐन लागू गर्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने र नयाँ विद्यालय शिक्षा विधेयक सदनबाट पारित गरिनुपर्ने माग राख्दै काठमाडौँमा व्यापक प्रदर्शन गरेका छन् । शिक्षक महासंघ र सरकारबीच २०८० असोज ५ गते भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।
यसैबीच शिक्षा मन्त्रालयले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक तयारी गरिरहेको छ, भने उच्च शिक्षा विधेयक र प्राविधिक तथा व्यावसायिक तालिम विधेयक अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको आकस्मिक राजीनामाले विश्वविद्यालय प्रशासनलाई चकित पार्दै उच्च शिक्षाको नेतृत्वमा बहस चर्काएको छ ।
जैविक विविधताको सन्दर्भमा पनि २०८१ साल उल्लेखनीय बन्यो ।
माघ महिनाभरि सञ्चालित राष्ट्रिय चरा गणनाले नेपालमा ८९८ प्रजातिका चराहरूको पुष्टि गर्यो, जसमा ‘बैजनी–बुङ्गेचरा’ नामक नयाँ प्रजाति थपियो । फागुन १८ गते सम्पन्न पुतली गणनाले नेपालको जैविक सम्पदामा नयाँ जानकारी थप्न सहयोग पुर्यायो । यी तथ्याङ्कले नेपालको वन्यजन्तु संरक्षणमा भइरहेको प्रगति, अनुसन्धानको तीव्रता र पर्यावरणीय सचेतनाको विस्तारलाई प्रस्ट पारेका छन् । यस्ता गणनात्मक प्रयासहरूले जैविक विविधता संरक्षणमा वैज्ञानिक आधार तयार गर्दै पर्यावरणीय नीति निर्माणका लागि डेटा आधारित आधार सिर्जना गर्छन् ।
निष्कर्ष
२०८१ साल नेपालका लागि अवसर र चुनौतीको संगम भएको वर्षका रूपमा स्मरणीय रह्यो । राजनीतिक क्षेत्र अस्थिरताको छायामा डुबिरहेको भए तापनि योजनागत कार्यान्वयन, कूटनीतिक पहल, कानुनी सुधार र दिगो नीतिहरूले दीर्घकालीन विकास दिशाको स्पष्ट संकेत दिएका छन् ।
विश्व राजनीतिमा इजरायल–प्यालेस्टाइन युद्धदेखि डोनाल्ड ट्रम्पको पुनरागमनसम्मका घटनाहरूले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन ल्याए । बाढी, भूकम्प, मौसम परिवर्तनजस्ता प्राकृतिक विपत्तिहरूले जनजीवनमा गम्भीर असर पार्दा पनि जलवायु रणनीति र विपद् न्यूनीकरण योजनाहरूले सकारात्मक प्रतिक्रिया देखाए ।
प्राविधिक क्षेत्रमा नेपाल र विश्व दुवैले नवप्रवर्तनका अभूतपूर्व उपलब्धिहरू—जस्तै चन्द्रमामा अवतरण, मंगलमा सूक्ष्मजीव जीवनको प्रमाण, एआईको व्यावसायिक विस्तार—दर्ज गरे । खेलकुदमा नेपाली खेलाडीहरूले कीर्तिमान कायम गरेर राष्ट्रिय गौरव बढाए । आर्थिक रूपमा मुद्रास्फीति नियन्त्रण, विप्रेषण प्रवाह, लगानी सम्मेलन र पर्यटन प्रवद्र्धनले सन्तुलित सुधारको संकेत दिए। शिक्षा क्षेत्रमा संस्थागत सुधार, एसईई परीक्षा र विश्वविद्यालयहरूको विस्तारको साथसाथै आन्दोलनका आवाजले पनि नीतिगत स्पष्टताका लागि सन्देश दिए । जैविक विविधता संरक्षणमा चरा र पुतली गणनाजस्ता पहलहरूले पर्यावरणीय चेतना मजबुत बनायो ।
समग्रमा, २०८१ साल सुरुवातमा निराशाका छायामा बाँधिए पनि अन्त्यतिर आइपुग्दा नेपालले आत्ममूल्याङ्कन, संस्थागत पुनर्संरचना र समृद्धिको दिशामा अगाडि बढ्न सक्ने स्पष्ट आधार तयार गरेको छ। यही कारण यो वर्षलाई इतिहासमा परिवर्तनको सम्भावनाले भरिएको निर्णायक मोडको रूपमा दर्ज गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्