काठमाडाैँ । जनकपुरधामसहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ ।
वैशाख सङ्क्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, व्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।
यसैगरी, दोस्रो दिन वैशाख २ गते घरपरिवारका ज्येष्ठजनले सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । मधेस प्रदेश सभा सदस्य रामआशिष यादव मधेस प्रदेश र मिथिला क्षेत्रमा जुडशितल पर्वको पौराणिक महत्व रहेको बताउछन् ।
जुडशितल पर्व मानव सभ्यताको प्रतिकको रुपमा रहेको उनले बताए । पानी, माटो र संस्कृतिकलाई कसरी बचाउने भन्ने सन्देश जुड शितल पर्वले दिने गरेको उनकाे भनाइ छ । परिवारको ज्येष्ठ सदस्यले परिवारको कनिष्ठ सदस्यलाई चिसो पानी शिरमा छर्किएर आशिर्वाद लिने चलन रहेको उनले बताए । उनले जुडशितल पर्व मनाउने कुरा कम हुँदै गएको जिकिर गरे ।
मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ ।
प्रतिक्रिया दिनुहोस्