साउन २१ गतेदेखि भृकुटीमण्डपमा नाइमाले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’आयोजना गर्ने


काठमाडाैँ । अटोमोबाइल व्यवसायीहरूले नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर एसाेसिएसन (नाइमा) ले औपचारिक घोषणासँगै अहिलेसम्मकै ठूलो सवारीसाधन तथा प्रविधि प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को घोषणा गरेकाे छ ।

एक्स्पो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने बताइएको छ। एक्स्पोको औपचारिक घोषणा नाइमा अटो शो समिति सदस्य गौरव सारडाले गरेका हुन्। उनले एक्स्पोको लोगो सार्वजनिक गर्दै सम्पूर्ण तयारीको खाका प्रस्तुत गरे। पाँच दिनसम्म हुने एक्स्पाे बिहान ११ बजेदेखि ७ः ३० मा सम्म खुल्ला रहनेछ ।

सारडाका अनुसार एक्स्पोमा चारपांग्रे, दुईपांग्रे, विद्युतीय सवारीसाधन, भविष्य उन्मुख यातायात प्रविधि, स्मार्ट मोबिलिटी समाधान तथा सहरी यातायात प्रणालीमा आधारित विविध ब्राण्ड र प्रदर्शनी स्टलहरू समावेश हुनेछन्। पहिलो पटक आयोजना हुने मोबिलिटी एक्स्पोमा गौरव सारडा, निराकार श्रेष्ठ र शिरिष मुरारका सदस्य छन् ।

‘नेपाल मोबिलिटी एक्स्पो’ को आयोजना व्यवस्थापन ‘मिडिया स्पेस सोलुसन्स’ ले गर्नेछ। आयोजकले विभिन्न अटोमोबाइल कम्पनीहरू, सवारीसाधन सम्बन्धित प्रविधि विकासकर्ता, सहरी पूर्वाधार प्रदायक तथा इनोभेटरहरूलाई सहभागीताका लागि दर्ता प्रक्रिया थाल्न आह्वान समेत गरिसकेको छ। आयोजकहरूले यसलाई नेपाली अटोमोबाइल क्षेत्रको परिवर्तनशील प्रवृत्तिलाई समेट्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गरेका छन्।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो मार्फत नेपाली सवारीसाधन उद्योगको नयाँ सम्भावनाहरू उजागर हुने विश्वास व्यक्त गर्दै यो कार्यक्रम उपभोक्ताहरू, नीति निर्माताहरू र निजी क्षेत्रलाई एकै थलोमा ल्याउने सशक्त प्लेटफर्म हुने बताइन्।

नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालमा बढ्दो मोबिलिटी चेतना, दिगो यातायात प्रणालीको आवश्यकता र प्रविधि अनुकूलनको मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। त्यस्तै अटो व्यवसायीहरूको पूरानो संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ ।