काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समिति बैठकले शिक्षा विधेयक ल्याउन दबाव दिँदै आन्दोलनरत शिक्षकहरूको मागलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने ठहर गर्दै, यही वैशाख १२ गतेदेखि सुरू हुने संसद अधिवेशनमा सशक्त उपस्थितिका साथ प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ।
पछिल्लो समय काठमाडौँको सडकमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै रास्वपाले सरकारलाई विधेयकमार्फत समाधान खोज्न आह्वान गर्दै आएको छ। पार्टीले शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र समावेशी बनाउने दीर्घकालीन सोचसहितको विधेयकको खाका संसदमा उठाउने तयारी गरेको बताइएको छ।
आजको बैठकले पार्टीको आगामी राष्ट्रिय महाधिवेशन चितवनमा हुने तय गरेको छ। फागुन ७, ८, र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गर्दै पार्टीले २०८२ सालको संगठनात्मक क्यालेन्डर पनि सार्वजनिक गरेको छ। सो अनुसार असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका, मंसिरसम्ममा जिल्ला र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
रास्वपाले हालसम्म १९७५ वडा समिति गठन गरिसकेको छ, जसमध्ये ७०० वडामा अधिवेशन भइसकेको छ। देशभरका ७५३ पालिकामध्ये ४५८ पालिकामा र ७० जिल्लामा समिति गठन सम्पन्न भइसकेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
प्रदेश संरचनालाई थप सशक्त बनाउन सातै प्रदेशका इन्चार्जहरु समेत तोकिएको छ। कोशीमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
बैठकमा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’ को प्रारूप प्रस्तुत गर्दै यसको मुख्य उद्देश्य सानो आकारको, कम खर्चिलो र परिणाममुखी सरकार निर्माण गर्नु रहेको बताए। उनले राजनीतिक भागबण्डाका लागि बनेका नियोग तथा आयोगहरूको कटौती र सार्वजनिक सेवामा गुणस्तरीय सुधार ‘ब्लु प्रिन्ट’ को केन्द्रमा रहेको स्पष्ट पारे।
बैठकमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा सञ्चालित ‘जन-यात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरिएको छ। यो अभियान पार्टीको जनसंपर्क विस्तार, जनभावना समेट्ने र संगठन विस्तारको मुख्य माध्यमका रूपमा अगाडि बढाइनेछ।
पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिएको अशिष्ट र अभद्र प्रवृत्तिको आलोचना गर्दै पार्टी अनुशासन र मर्यादा कायम गर्न निर्देशन दिएका छन्। उनले पार्टी सदस्य र शुभेच्छुकहरूलाई सामाजिक सञ्जालमा सभ्य व्यवहार अपनाउन र आचारसंहिता पालना गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्