काठमाडाैँ । करमार्फत राज्यको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको चश्मा व्यवसायलाई राज्यले योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्ने चश्मा व्यवसायीहरुले बताएका छन् ।
काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा व्यवसायीहरुले चश्मा व्यवसायीको हकहितका लागि काम गर्नु सरकारको दायित्व भएको बताएका हुन् । एक्स्पोमार्फत आएको परिणामले भविष्यमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको उनीहरुको भनाइ छ ।
आयातकर्ता र खुद्रा विक्रेतालाई जोड्ने काम गर्ने प्रदर्शनीमा खुद्रा चश्मा पसलमा आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध हुने व्यवसायीको भनाइ छ । प्रदर्शनी पहिलो पटक आयोजना गरिएको भएपनि ग्राहकको उपस्थितिले उत्साह थपिएको व्यवसायीले बताएका छन् ।
अप्टिकल एशोसिएशन व्यवसायी सङ्घका सहसचिव देवेन्द्र मास्केले नेपालको अर्थतन्त्रमा चश्मा व्यवसायले ठूलो हिस्सा ओगटेको बताए । मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखाको क्षेत्रमा काम गर्ने चश्मा व्यवसायीलाई व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
प्रदर्शनीमा देखिएको भीडले प्रदर्शनीको उद्देश्य पूरा भएको देखाउने उनको भनाइ छ । उहाँले चश्मा व्यवसायीलाई राज्यले तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
चश्मा व्यवासायी होलसेल सङ्घका महासचिव छविलाल तिमल्सिनाले चश्मा व्यवसायीका समस्यामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले चश्माको आयातमा अत्याधिक कर लगाइएकाले सरकारले त्यसमा पुनर्विचार गर्नुपर्ने बताए । कर तिर्दा पनि कतिपय अवस्थामा व्यवसायीहरुले दुःख पाएको उनको गुनासो छ । चश्मा व्यवसाय मान्छेको स्वास्थ्यसँग सम्बन्धित भएकाले आयातमा भन्सार छुट गर्नुपर्ने उनको माग छ ।
वैशाख ५ गतेदेखि शुरु भएको प्रदर्शनी वैशाख ७ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्