काठमाडौँ । काठमाडाैँ महानगरपालिकाको सहकारी विभागले महानगर क्षेत्रभित्रका सहकारी संस्थाहरूको नियमित तथा आकस्मिक अनुगमन कार्य तीव्र बनाएको छ । विभाग प्रमुख नमराज ढकालको संयोजकत्वमा गठन गरिएको सहकारी अनुगमन टोलीले गत फागुन महिनादेखि अनुगमन सुरू गरिसकेको हो ।
टोलीमा काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, सहकारी विभागका शाखा अधिकृत नारायण विक, लेखापाल दिपेन्द्र केसी सदस्य छन् भने सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटा मगर समितिका सदस्य सचिव छन् ।
अनुगमनका लागि हालसम्म १० वटा सहकारी संस्थाको अवस्था मूल्याङ्कन गरिएको छ भने यसपटक ४० वटा सहकारीको अनुगमन गर्ने लक्ष्य रहेको टोली संयोजक ढकालले जानकारी दिए ।
सहकारीहरूको अनुगमनका लागि ५६ वटा सूचकहरू निर्धारण गरिएको छ । ती सूचकको आधारमा अनुगमन गरिँदैछ । जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र सहकारी अभियन्तासहितको टोलीले सहकारीको अवस्था हेर्नेछ । गुनासा परेका, उदाहरणीय अभ्यास देखिएका तथा २५ करोड रुपैयाँभन्दा बढी लगानी भएका सहकारीलाई प्राथमिकतामा राखेर अनुगमन योजना बनाइएको छ ।
काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ७९ र १९६ तथा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी ‘बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७’ अनुसार उक्त समिति गठन गरिएको हो । समितिलाई सम्बन्धित वडा समिति र विज्ञहरूको सहयोगमा अनुगमनको जिम्मेवारी दिइएको छ ।
महानगर क्षेत्रभित्र हाल १ हजार ९१७ सहकारी संस्था दर्ता छन् । तीमध्ये २०८०|०८१ को साधारण सभा विवरण अद्यावधिक गराएका सहकारीको संख्या ७५० मात्र रहेको छ । यस्तै सहकारी तथा गरिबी सम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली ‘कोपोमिस’ मा दर्ता भएका सहकारीको संख्या १ हजार ७४८ छ भने हाल २ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्