काठमाडौँ महानगरपालिकाले उठायो ७ अर्ब राजस्व, घर बहालबाट मात्र दुई अर्बभन्दा बढी


काठमाडाैँ । चालु आर्थिक वर्षको वैशाख ७ गतेसम्म काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्ष घरबहाल र सम्पत्ति कर लगायतका शीर्षकमा उल्लेखनीय वृद्धि देखिएको छ।

राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार घरबहाल करबाट मात्रै २ अर्ब ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ संकलन गरिएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा संकलन भएको १ अर्ब ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँभन्दा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी हो।

त्यस्तै सम्पत्ति करमा पनि १५ करोड २२ लाख ४३ हजार १४५ रुपैयाँको वृद्धि भएको छ। गत वर्ष ७९ करोड ५२ लाख ८३ हजार ६६ रुपैयाँ संकलन भएकोमा, चालु वर्ष सोही अवधिमा ९४ करोड ७५ लाख २६ हजार २१२ रुपैयाँ संकलन गरिएको छ।

न्यायिक दस्तुर शीर्षकमा ८४ हजार ८०५ रुपैयाँ, पर्यटन शुल्कमा १ करोड ६७ लाख ४० हजार ५ सय रुपैयाँ, भूमिकर तथा मालपोत करमा १ लाख ९० हजार ८७० रुपैयाँ, शिफारिस दस्तुरमा ७१ लाख २८ हजार २६८ रुपैयाँ तथा प्रशासनिक जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार ८८३ रुपैयाँ राजस्व संकलन भएको छ।

राजस्व वृद्धि हुनुमा करदातालाई पत्राचार गरी कर तिर्न अनुरोध गर्नु, व्यवसाय कर टोलीलाई नियमित रूपमा परिचालन गर्नु र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गर्दै विवरण अद्यावधिक गर्नु मुख्य कारण भएको अधिकारीले बताए।

यद्यपि केही शीर्षकमा राजस्व घटेको छ। विशेषतः नक्सापास दस्तुरबाट राजस्वमा उल्लेखनीय गिरावट आएको छ। सहरमा भवन निर्माणका लागि स्थान कम हुँदै गएकाले यस वर्ष यो शीर्षकमा २९ करोड ६४ लाख ७४ हजार ५३६ रुपैयाँ मात्रै संकलन भएको छ, जुन गत वर्षको ४९ करोड ८२ लाख १० हजार ७१० रुपैयाँभन्दा २० करोड १७ लाख २६ हजार १७४ रुपैयाँ कम हो।

अन्य प्रशासनिक सेवा शुल्कमा पनि राजस्व घटेको छ। गत वर्षको तुलनामा यस वर्ष २ करोड ६३ लाख ९६ हजार २९९ रुपैयाँ कम राजस्व उठेको छ।

यसैबिच हनुमानढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत संकलित पर्यटन शुल्कमा भने वृद्धि देखिएको छ। कार्यक्रमले यस वर्ष १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको छ, जुन गत वर्षको १४ करोड ६ लाख ६३ हजार रुपैयाँभन्दा बढी हो। अन्य सेवा शुल्कसहित कुल १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ