भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न प्रधानमन्त्रीको जोड


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार काठमाडौँमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए ।

उनले विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए ।

उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गरे । भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने उनले बताए । यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उल्लेख गरे ।

 प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्वन गर्न जरुरी रहेको बताए । उनले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गर्नुभएको सहयोग असाधारण रहेको उल्लेख गरे ।