सहकारी प्राधिकरण गठनपछि सहकारी क्षेत्रको नियमन र सुधार प्रक्रियाले गति लिएको छः मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी क्षेत्रको नियमन र सुधार प्रक्रियाले गति लिएको बताएका छन्।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको : राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका भन्ने अन्तरकिय्रा कार्यक्रममा बाेल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका केही भ्रमहरू हटाउँदै प्राधिकरणमार्फत सहकारीहरूलाई सुधारको बाटोमा डोर्याउने दाबी गरे।

“अब प्राधिकरण बनेको छ, कसरी अघि बढ्छ भन्ने पनि स्पष्ट हुँदैछ। केहीले यसबारे भ्रम सिर्जना गर्न खोजेका छन्, तर सहकारी क्षेत्र आर्थिक उन्नतिका लागि सही बाटो हो,” मन्त्री अधिकारीले भने,”गलत गर्नेलाई कारबाही गर्नुपर्छ, सही गर्ने सहकारीहरूलाई प्रोत्साहन दिनुपर्छ।”

उनले देशभरका अधिकांश सहकारीहरू राम्ररी सञ्चालनमा रहेको उल्लेख गर्दै भने, “एक हजार सहकारीले त नराम्रो गरेका छैनन्। केही व्यक्तिले बचतकर्तालाई भ्रममा पारेर बचत नगर्न उक्साएका छन्। तर हामीले भनेका छौं—बचत गरेर सहकारी चलाउनुहोस्।”

मन्त्री अधिकारीका अनुसार कतिपयले सहकारीका नाममा ठगी गरेर फरार हुने प्रवृत्तिले पनि समस्या उत्पन्न गरेको छ। “तीन तहबाट सहकारीको निगरानी हुने व्यवस्था छ,” उनले भने,”सहकारी ऐनले नियमअनुसार नियमन गर्न सहयोग पुर्‍याउँछ।”

उनले प्राधिकरण गठनपछि आवश्यक बैठकहरू बसेको र कार्य योजनाहरू अगाडि बढाइएको जानकारी दिए। “अब सबै तहलाई पूर्णता दिनेगरी काम भइरहेकै छ। ऐन संशोधन गर्दा केही कुरा छुटेको भनिए पनि त्यो तत्कालीन समस्याको समाधानका लागि ल्याइएको हो,” मन्त्री अधिकारीले भने ।

उनले हालसम्म २३ वटा सहकारी समस्याग्रस्त सूचीमा रहेको जानकारी दिँदै तीमध्ये ३ वटा सहकारीको समस्या समाधान भइसकेको र आगामी जेठसम्म थप २ वटा सहकारीको समस्या समाधान हुने अपेक्षा गरिएको बताए।