जैविक कृषि जागरण यात्राअन्तर्गत हेटौंडाका विद्यार्थी र पत्रकारसँग संवाद


काठमाडौँ । खाद्यका लागि कृषि अभियानद्वारा सञ्चालित जैविक कृषि जागरण यात्रा अहिले विभिन्न स्थानमा सक्रिय रूपमा अगाडि बढिरहेको छ। यात्राको पाँचौँ दिन हेटौंडामा वन विज्ञान अध्ययनरत विद्यार्थी र स्थानीय पत्रकारहरूसँग छुट्टाछुट्टै छलफल गरिएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकाय भवनमा आयोजित छलफलमा वन र कृषिको अन्तर्सम्बन्ध, राजनीतिक निर्णयबाट वन र कृषिको कृत्रिम विभाजनले निम्त्याएका समस्या, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले जनस्वास्थ्यमा पारेको नकारात्मक असर, वन पैदावारको संरक्षण र व्यवस्थित उपयोग जस्ता विषयमा गहन छलफल भएको थियो।

छलफलका क्रममा विद्यार्थीहरूले जैविक खेतीको उत्पादन क्षमता, यसको विस्तारका चुनौती लगायतका विषयमा जिज्ञासा व्यक्त गरेका थिए। जवाफमा अभियानका प्रतिनिधिहरूले संक्रमणकालीन प्रविधिको प्रयोगमार्फत कोही पनि सहजै जैविक खेतीमा लाग्न सक्ने र त्यसले उत्पादन क्षमतामा कमी नआउने स्पष्ट पारेका थिए।

त्यसैगरी मोफसलबाट राष्ट्रिय तथा स्थानीय विषयवस्तुहरूलाई पत्रकारितामार्फत नागरिकसमक्ष पुर्‍याउँदै आएका हेटौंडाका पत्रकारहरूसँग पनि जागरण यात्राको टोलीले अन्तरक्रिया गरेको छ। कार्यक्रममा अभियानले जैविक कृषि जागरण यात्राको उद्देश्य र महत्वबारे जानकारी गराउँदै खेतीपाती तथा खाद्य सुरक्षाका सवालहरूलाई स्थानीय तहसम्म पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिकाबारे समेत छलफल गरेको थियो। पत्रकारहरूले कृषि क्षेत्रका समसामयिक समस्याहरू र जागरण यात्रासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।

यात्राको छैठौँ दिन अभियानले जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, वीरगञ्ज कृषि औजार कारखानाका वैज्ञानिक तथा वीरगञ्जका पत्रकार र नागरिक समूहका अगुवासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय गरेको छ।