काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत सरकारसँग छ कि छैन भनेर प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई यस्तो चुनौती दिएका हुन्। उनले उच्च स्तरीय सशक्त न्यायिक समिति गठन गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सरकारसँग आग्रह गरे ।
सांसद पराजुलीले २२ अर्ब रुपैयाँ ऋण सम्झौतामा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को सार्वजनिक लेखा समितिले उजागर गरेको बताए। साथै, यस्तो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलिएको पनि उहाँले टिप्पणी गरे ।
उनले विमानस्थलमा आवश्यक लम्बाइको धावन मार्ग बनाउन नसकिएको तर धावन मार्गभन्दा लामो भ्रष्टाचारको सूची बनेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत यो विषयलाई सिरिजका रूपमा उजागर गरिरहेको उल्लेख गर्दै उहाँले सरकारको गम्भीरता प्रश्न गरे ।
“नाकै मुनी भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार न आफैं गर्ने न अरूलाई गर्न दिने भनिरहने कि वास्तवमै कारबाही अगाडि बढाउनेरु प्रधानमन्त्रीज्यू, के तपाईंमा उच्च स्तरीय सशक्त न्यायिक समिति गठन गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सम्पूर्ण अनियमितता र भ्रष्टाचारको छानबिन गरी दोषीहरूलाई कानुनी कठघरामा उभ्याउने र विमानस्थललाई नियमित रूपमा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउने हिम्मत छ?,” उनले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्