काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले हाल विद्युत् आपूर्तिको अवस्थाबारे सामाजिक सञ्जालमा व्यक्त भइरहेका आशंका र जिज्ञासाप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले अहिले देशभर विद्युत् आपूर्तिमा कुनै ठुलो समस्या नरहेको स्पष्ट गर्दै घरायसी ग्राहकहरूका लागि लोडसेडिङ नहुने आश्वासन दिएको छ।
प्राधिकरणका अनुसार हालसम्म देशभरको विद्युत् जडित क्षमता ३,५१२ मेगावाट पुगेको छ। जसमध्ये प्राधिकरणको आफ्नै जलविद्युत् उत्पादन ६६२ मेगावाट, सौर्य ऊर्जा २५ मेगावाट र तापीय ऊर्जा ५३ मेगावाट (हाल बन्द अवस्थामा) रहेको छ। साथै, सहायक कम्पनीहरूबाट ६२३ मेगावाट र निजी क्षेत्रबाट २ हजार १४९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
हाल आन्तरिक उत्पादन (जलविद्युत्, सौर्य लगायत) औसत १,१७५ मेगावाट रहेको छ भने उच्च माग (पिक लोड) २ हजार ०७७ मेगावाट पुगेको छ। सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेकाले बाँकी विद्युत् भारतबाट आयात गरेर आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।
गर्मी याम सुरू भएसँगै भारतमा विद्युत् माग अत्यधिक बढेकाले राति मागेजति विद्युत् किन्न नसकिएको भए पनि प्राधिकरणले सबै उपाय अपनाएर घरायसी ग्राहकलाई २४ सै घण्टा विद्युत् आपूर्ति गर्दै आएको जानकारी दिएको छ। उद्योगहरूलाई पनि रातिको केही घण्टा बाहेक अन्य समयमा मागअनुसार विद्युत् आपूर्ति भइरहेकाले कुनै गम्भीर समस्या नभएको प्राधिकरणले जनाएको छ।
हाल प्रि-मनसुन सिजन सुरू भई हावाहुरी र चट्याङका कारण कतिपय स्थानमा वितरण प्रणाली र प्रसारण लाइनमा आंशिक क्षति हुँदा अस्थायी रूपमा आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ। यस्ता अवस्थामा मर्मत तथा नयाँ संरचना निर्माणका लागि विद्युत् बन्द गर्ने सूचना कम्तिमा २४ घण्टा अगाडि सार्वजनिक गरिँदै आएको समेत प्राधिकरणले स्पष्ट पारेको छ। आकस्मिक अवरोधहरूमा पनि समस्या पहिचान गरी चाँडो समाधान भइरहेको जानकारी दिइएको छ।
प्राधिकरणले सामाजिक सञ्जालमा अतिरञ्जित गरी फैलाइएका हल्लाजस्तो समस्या विद्युत् आपूर्तिमा नरहेको र भविष्यमा पनि घरायसी ग्राहकहरूलाई लोडसेडिङ नहुने स्पष्ट पारेकाे छ। औद्योगिक ग्राहकहरूलाई भने बेलुकी समयमा विद्युत् खपत कम गरेर सहकार्य गर्न अनुरोध गरिएको छ।
प्राधिकरणले निकट भविष्यमै नेपालका नदीहरूमा बहाव बढ्ने र भारतबाट आपूर्ति सहज हुने भएकाले हाल देखिएको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबै ग्राहकलाई साथ, सहयोग र सदाशयताको लागि धन्यवाद दिएको छ।
प्रतिक्रिया दिनुहोस्