काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनको नाम नलिइकनै अघिल्लो सरकारले ल्याएको बजेटका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको बताएका हुन् । उनले संसदमा लाज पचाएर बोल्ने आरोपसमेत लगाउँदै, आफैंले अर्थतन्त्र भताभुङ्ग पारी अहिले आलोचना गर्दै हिँड्ने प्रवृत्ति देखिएको टिप्पणी गरे ।
“अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्र उठाउने काम गरिरहेको छ,”प्रधानमन्त्री ओलीले भने,”अघिल्लो सरकारले पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, ऋणमा मात्रै फसाइदिएको अवस्था छ।”
प्रधानमन्त्री ओलीले उखु तथा दूध बेच्ने किसानह?लाई भुक्तानी नदिएको आरोपसमेत अघिल्लो सरकारमाथि लगाए । उनका अनुसार सरकारले तत्काल ठेकदार र किसानहरूलाई तिर्नुपर्ने ऋण मात्रै बाँकी रहेको छ।
ओलीले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहकार्यबाट बनेको उल्लेख गर्दै देशलाई अस्थिरताको चपेटाबाट जोगाउन यस्तो सरकार गठन भएको बताए । उनले देशको अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्