काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनसँग जोडिएका कानून र कार्यविधिलाई ‘घन टाउके’ जस्तै भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार आयोजना गरेको ‘गृहमन्त्रीसँग विपद् संवाद’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री लेखकले हालको संरचना शरीरको खुट्टा र जिउ पातलो तर टाउको भारी भएको जस्तो अवस्था भएको बताएका हुन् ।
उनले यस्ता संरचनाले प्रभावकारी रूपमा काम गर्न नसक्ने बताउँदै स्थानीय तहलाई सबल नबनाई विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने धारणा व्यक्त गरे ।
“विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रहरूको टाउको ठूलो तर शरीर कमजोर भएको छ। टाउको ठूलो होइन, बुद्धि बढी भएको हुनुपर्छ। शरीर बलियो हुनुपर्छ,” उनले भने ।
उनले संघीय सरकारले नीति बनाउने भए पनि कार्यान्वयनमा स्थानीय तहलाई पहिलो निकायको रूपमा सशक्त बनाउनुपर्नेमा जोड दिए। गृहमन्त्री लेखकले आफू गृहमन्त्री भएपछि मानवीय रणनीतिक क्षेत्रहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीतिगत निर्णय गरेको जानकारी दिए । उनका अनुसार अबको एक महिनाभित्र बाँकी रहेका मानवीय रणनीतिक क्षेत्रहरू पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ।
“अब प्रत्येक पालिकामा एउटा कोठा रणनीतिक क्षेत्र भनेर तोक्नुपर्छ। त्यसमा आधारभूत सामग्री राख्नुपर्छ। संघ र प्रदेश सरकारले पनि सहयोग गर्ने वातावरण मिलाउनुपर्छ,” उनले भने ।
उनले विपद् व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहलाई प्रभावकारी बनाइने गरी पूर्वसुरक्षा सेवाका अवकाशप्राप्त व्यक्तिहरूलाई स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले प्राधिकरणसँग प्रयाप्त बजेट नरहेको उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्षमा प्राधिकरणको कुल बजेट १९ करोड रुपैयाँ छ, जसमा १६ करोड रुपैयाँ तलब र भत्तामा खर्च हुने गरेको छ।
बाँकी तीन करोड रुपैयाँबाट ७५३ पालिका, ७७ जिल्ला र सातवटा प्रदेशसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भट्टले बताए । उनले विपद् जोखिम न्युनिकरणका लागि प्रत्येक स्थानीय तहमा आवश्यक सामग्रिसहित रणनीतिक गोदामको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया दिनुहोस्