उडड्यन क्षेत्रको व्यापक सुधारको लागि आवश्यक ऐनहरू निर्माण गर्ने गृहकार्यमा छौंः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई क्षेत्र सुधारका लागि सरकार ऐन निर्माणको गृहकार्यमा लागेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई नीति परिवर्तन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्रुहरूले प्राप्त गर्ने बिमा सुविधामा ठूलो अन्तर रहेको उल्लेख गर्दै त्यसको समायोजन र पुनरावलोकनका लागि नयाँ कानुन बनाउने तयारी भइरहेको बताए । साथै, हवाई दुर्घटना जाँचबुझसँग सम्बन्धित स्थायी प्रकृतिको ऐन आवश्यक रहेको औँल्याउँदै त्यसको मस्यौदा लेख्ने काम छिट्टै सुरु गरिने दाबी गरे ।

“हामी हवाई नीति परिवर्तनको तयारीमा छौं । उड्डयनसम्बन्धी छाता ऐनको रूपमा हवाई ऐनको मस्यौदाको काम पनि अगाडि बढेको छ,” उनले भने,”बिमासम्बन्धी समायोजन र पुनरावलोकन गर्न ऐन बनाउनुपर्ने आवश्यकता देखिएको छ । साथै, हवाई दुर्घटना जाँचबुझसम्बन्धी स्थायी ऐनको मस्यौदा तयार गर्ने तयारीमा पनि हामी जुटेका छौं ।”

त्यस्तै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन सरकारले विशेष ध्यान दिएको पनि मन्त्री पाण्डेले जानकारी दिए ।