शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर


काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन्।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिले शिक्षकहरू सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए ।

यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरूले लिनुपर्ने उनको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताए । उनले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

उनले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्नसक्ने अवस्था नरहेको जिकिर गरे । नेपालमा पानी र स्वास्थ्यको समस्या पनि त्यत्तिकै रहेको बताए । 

“सरकारलाई दोष दिएर मात्रै हुँदैन । सरकारमाथि हामी आलोचना गर्नसक्छौँ । तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था ? सामुदायिक स्कुलको बलमा सबैलाई शिक्षित गर्नसक्छौँ ? सक्दैनौँ । पानीको समस्या छ । निजी क्षेत्रबाट पानी ट्याङ्करले नल्याउने हो भने पानीको समस्या कति ठूलो छ,” उनले भने ।