काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिरसम्म सहज पहुँच सुनिश्चित गर्न निर्माणाधीन पाथीभरा देवी दर्शन केवलकार परियोजनाले स्थानीय धर्म, संस्कृति र पहिचानको सम्मान गर्दै विकास कार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ।
पाथीभरा देवी दर्शन केवलकार प्रालि २०७२ साल असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको हो। कम्पनीको उद्देश्य पाथीभरा क्षेत्रको धार्मिक र सांस्कृतिक संरक्षण गर्दै आवश्यक पूर्वाधार निर्माणमार्फत पर्यटन प्रवर्द्धन र स्थानीय सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याउनु रहेको बताइएको छ।
कम्पनीका अनुसार फुङलिङ नगरपालिका–११ काफ्लेपाटीबाट सुरु भई पाथीभरा मन्दिर परिसरभन्दा केही बाहिरसम्म विस्तार हुने २.७५ किलोमिटर लामो केबलकार मार्गको लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेको छ। परियोजनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रिपरिषद्को निर्णयबाट भोगाधिकार समेत लिइसकिएको र सोअनुसार १०६ रोपनी जग्गा खरिद गरी नेपाल सरकारलाई सट्टाभर्ना दिइएको कम्पनीले जनाएको छ।
हालसम्म परियोजनाले पहुँच मार्ग निर्माण, विद्युत लाइन विस्तार, खानेपानी व्यवस्थापन, विस्तृत इन्जिनियरिङ् डिजाइन, माटो परीक्षण र तल्लो स्टेशनमा कामदार आवास निर्माण जस्ता कार्य सम्पन्न गरिसकेको छ। साइट क्लियर गर्न आवश्यक रुख कटानसमेत सम्पन्न भइसकेको र कटान गरिएको एउटा रुखका सट्टा २५ वटा नयाँ रुख रोप्ने तयारी गरिएको जानकारी गराइएको छ।
तर, निर्माणाधीन परियोजनाविरुद्ध स्थानीय विभिन्न पक्षहरू आन्दोलनरत छन्। उनीहरूले केबलकारले आदिवासी जनजातिको मौलिक धर्म, संस्कृति र परम्परामा आघात पुग्ने र पहिचान तथा आत्मसम्मान मेटिने आशंका व्यक्त गर्दै आएका छन्। आन्दोलनरत पक्षले पहिचान र आत्मसम्मान सुनिश्चित गर्न, स्थानीयलाई रोजगारीको ग्यारेन्टी गर्न र मौलिक संस्कृति तथा परम्पराको संरक्षण सुनिश्चित गर्न माग गर्दै आएका छन्।
यस सन्दर्भमा सञ्चालक रुद्रराज पौडेलले हस्ताक्षरित विज्ञप्तिमा कम्पनीले विकास निर्माण र पहिचानको संवेदनशीलतालाई स्वीकार गर्दै आन्दोलनरत सबै पक्षलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेको छ। “केबलकार निर्माण प्रकृतिमा न्यूनतम असर पार्ने वातावरणमैत्री यातायात साधन हो, र हामी स्थानीय सभ्यता, धर्म, संस्कृति, परम्परा र आत्मसम्मानको उच्च सम्मान गर्दै परियोजना अघि बढाउन प्रतिबद्ध छौँ,”विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले केबलकार खारेजी बाहेक आन्दोलनरत पक्षहरूले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै, विकास र पहिचान दुवैलाई सँगसँगै अघि बढाउने प्रयास गरिने जनाएको छ।
परियोजना सम्पन्न भएपछि आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्