काठमाडाैँ । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा राति सवारी आवागमन वैशाख ३१ सम्म बन्द गरिने भएको छ।
सडक विस्तार र मर्मतका लागि हाल चलिरहेको रातको सवारी रोक व्यवस्था वैशाख १५ मा सकिनुपर्ने भए पनि निर्माण कार्य नसकिने देखिएपछि थप १६ दिनका लागि निरन्तरता दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा राति ११ बजेपछि भोलिपल्ट बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिनेछ । “वर्षाअगाडि भित्तातर्फको कटिङ सक्न रातको समयमा निर्माण कार्यलाई तीव्रता दिइएको छ,” पाण्डेले भने ।
यसअघि पनि चैत २७ देखि चैत ३१ सम्म दिनमा र वैशाख १ देखि रातिमा अत्यावश्यक सवारीबाहेक सञ्चालनमा रोक लगाएर काम भइरहेको थियो ।
पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
नारायणगढ–बुटवल सडकखण्डको कुल ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर सडक विस्तार भइरहेको छ । यसको १४ किलोमिटर दाउन्ने खण्ड तीन लेनको बनाउने काम भइरहेको छ ।
रु १७ अर्ब लागतमा सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तोकिएको समयभित्र काम सक्न नसकेपछि तीनपटक म्याद थपिसकेको छ । हाल तेस्रो पटक थपिएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस्