वडादेखि पालिकासम्मका योजना मन्त्रालयमै आउने अवस्था छः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश संघीय शासन प्रणालीमा गएपनि बजेट निर्माण प्रक्रियामा वडादेखि पालिकासम्मका योजना मन्त्रालयमै आउने अवस्था कायमै रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो प्रणालीले संघीयताको उद्देश्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ थपिरहेको उल्लेख गरेका हुन् ।उनले निर्णय गर्ने क्षमता तलसम्म पुग्न नसक्दा योजना निर्माणमा जटिलता भइरहेकाले सुधारको खाँचो रहेको धारणा राखे ।

त्यस अवसरमा मन्त्री पाण्डेले अहिले देशमा निराशाको संप्रेषण अत्यधिक भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने चेतावनी दिए ।

मन्त्री पाण्डेले सबै राजनीतिक तथा सामाजिक क्षेत्रहरूमा स्वच्छ र सक्षम व्यक्तिहरूको खोजी भइरहेको उल्लेख गर्दै अब गुणस्तरीय र सकारात्मक कार्यदिशातर्फ अग्रसर हुनुपर्ने स्पष्ट पारे ।