काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सीप र ज्ञानको प्रयोगमार्फत कुनै डाँडामा बसेर पनि महिनामा लाखौँ रुपैयाँ कमाउन सकिने सम्भावना रहेको बताएका छन्।
मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै महामन्त्री थापाले आफूले कीर्तिपुरको डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिने कल्पना गर्दा कतिपयले रमाइलो मानेको उल्लेख गर्दै त्यो सपना साकार पार्न सकिने विश्वास व्यक्त गरे।
“एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने मेरो इमाजिनेसनको कुरा मैले गरे, कतिलाई रमाइलो कुरा पनि भयो। तर त्यो इमाजिनेसन हो, त्यो ड्रिम हो, सम्भव छ,” थापाले भने, “एउटा व्यक्तिलाई स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ।”
थापाले अहिलेको युग ज्ञान अर्थतन्त्रको भएको उल्लेख गर्दै चीनमा जन्मिएको एक व्यक्तिले ‘डिपसिक’ बनाएर सिलिकन भ्यालीको अनुमोदन नपाए पनि एआई क्षेत्रमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न सक्ने ठाउँमा पुगेको उदाहरण दिए।
उनले ज्ञानको प्रयोगमार्फत विश्वभर सम्भावनाको नेटवर्क खुलेको बताउँदै नेपालका युवाले पनि यस्तो सम्भावनाबाट लाभ लिन सक्नुपर्ने धारणा राखे। “अब हामी नलेज इकोनोमीमा छिरेका छौँ,” उनले भने, “सम्भावनाको नेटवर्क खुलेको छ। हाम्रा लाखौँ युवालाई नयाँ अवसर आउँदैछ। त्यो अवसरबाट विपन्न समुदाय वञ्चित हुन नपरोस्।”
प्रतिक्रिया दिनुहोस्