काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै यस रणनीतिले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको प्रमाणित हुने बताए ।
उनले आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको दाबी गरे। सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम शुरू गरेको जानकारी दिँदै उनले विद्यालय नर्स कार्यक्रम पनि शुरू भइसकेको बताए ।
जसमा आँखा स्वास्थ्यलाई विद्यार्थी कल्याणको मुख्य हिस्साको रूपमा समावेश गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । जसले दिगो विकास लक्ष्य ४\५ अनुरूप लैंगिक समानता र शिक्षामा पहुँचलाई अघि बढाउने बताए। आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३० मा महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गरेको र जसमा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेजलाई ३५.४% बाट ७०% मा दोब्बर गर्ने प्रतिवद्धता जनाएको बताए ।
आँखा स्वास्थ्यले गरिबी र भोक अन्त्य गर्नेदेखि असमानता घटाउने र जलवायु लचकता प्रवद्र्धन गर्ने धेरैजसो दिगो विकास लक्ष्यहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने बताए ।
प्रतिक्रिया दिनुहोस्