कुमारी बैंकको ४ महिनामा ७४ लाख कित्ता संस्थापक सेयर बिक्रीको सूचना


काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट संस्थापक सेयरधनीहरू बाहिरिने क्रम बढ्दो छ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गरेपछि प्रतिफल कम पाउने गरेकाले संस्थापक सेयर बेचेर सेयधनी बाहिरिँदै गएका छन् ।

बैंकको वित्तीय विवरण कमजोर हुँदै गएपछि कुमारी बैंकका संस्थापक सेयरधनीहरू पछिल्लो समय बाहिरिने क्रम बढेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष सुरु भए यता कुमारी बैंकमा रहेका संस्थापकहरूले ७४ लाख ४५ हजार भन्दाबढी कित्ता संस्थापक सेयर विक्रीमा राखेका छन् ।

पछिल्लो ४ महिनामा संस्थापक सेयरधनीहरूले बैंकमा रहेको ७४ लाख ४५ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक अहिले भइरहेका संस्थापकहरूको हुन्छ ।

संस्थापक सेयरधनीहरूले सुरुमा संस्थापक सेयरधनीहरुलाई नै बेच्नुपर्ने हुन्छ । यदि संस्थापक सेयरधनीहरू सेयर खरिद गर्न आवेदन नदिए संस्थापकभन्दा बाहिर सर्वसाधारणहरूले आवेदन गर्न सक्ने छन् ।

सोही अनुसार ७४ लाख ४५ हजार ९६३ कित्ता संस्थापक सेयरधनीहरूलाई बेच्न राखिएको हो ।

पछिल्लो ४ महिनामा ५ लाख ५१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्नको लागि सूचना जारी गरेको छ ।

कुमारी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अवस्था कमजोर देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक १ अर्ब ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ करोड ५८ लाख २३ हजार रुपैयाँमा मात्र नाफा कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ । बैंकको लगानीमा प्रतिफल (आरओई) १.०८ प्रतिशत छ भने बैंकको खराब कर्जा ६.९८ प्रतिशत छ ।