काठमाडौँ । सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरेसँगै चैत २० गतेदेखि काठमाडौँमा जारी शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबिच भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरेपछि आन्दोलन रोकिएको हो। मन्त्रिपरिषद्को निर्णयपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त सहमति कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
सहमति अनुसार अब निजामती अस्पतालमार्फत शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई उपचारमा सहुलियत दिइनेछ। अस्थायी, राहत, करार, सिकाइ अनुदान, प्राविधिकधार, विशेष शिक्षा तथा बालविकाससँग सम्बन्धित शिक्षकको सञ्चित बिरामी बिदाको रकम सेवा समाप्तिमा एकमुष्ट रूपमा दिइनेछ। प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोकेको दरअनुसार उपलब्ध गराइने छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२|०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिकदेखि माध्यमिक तहसम्म निजामती सेवाको ग्रेड संरचनाअनुसार तलब सुविधा व्यवस्था गरिनेछ। स्थायी तथा अस्थायी प्रकृतिका शिक्षकहरूलाई कानुनअनुसार दुर्गम भत्ता दिने, सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गरिनेछ।
सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गरिने सहमति पनि भएको छ। आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिनेछ। साथै, निम्न माध्यमिक तहमा कार्यरत प्राथमिक श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह बनाइनेछ।
सरकार र शिक्षक महासंघबिचको यस सहमतिपछि हालका लागि शिक्षण कार्य पुनः नियमित हुने भएको छ। यद्यपि सहमतिका बुँदाहरू व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने कुराले अबको शिक्षा क्षेत्रको वातावरण निर्धारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस्