जलवायु परिवर्तनको एक प्रमुख कारक तत्वमा पशुपालन पनि पर्छ भने यो परिवर्तनबाट पशुपालन स्वयं पनि प्रभावित भएको छ।
– डा. विनोद गुप्ता
परिचय (Introduction)
मौसम भन्नाले कुनै एक ठाउँको औसत वातावरणलाई जनाउँछ। यही औसत वातावरणमा छोटो समयमा हुने परिवर्तनलाई मौसम परिवर्तन (Weather change) भनिन्छ। एक छिनमा हावा चल्नु, पानी पर्नु, घाम लाग्नु, ऋतु परिवर्तन आदि यसका उदाहरण हुन्।
जलवायु भन्नाले कुनै एक ठाउँको लामो समय (कम्तीमा ३० वर्ष) सम्मको औसत मौसमलाई जनाउँछ (जस्तै: तराईमा गर्मी हुनु, पहाडमा जाडो हुनु, माघमा जाडो, जेठमा गर्मी हुनु आदि)। यही औसत मौसममा आउने परिवर्तनलाई जलवायु परिवर्तन (Climate change) भनिन्छ।
पृथ्वीमा खनिज इन्धन (Fossil fuel) को अत्यधिक प्रयोगका कारण वायुमण्डलमा कार्बन डाइअक्साइड (CO₂), मिथेन (CH₄) जस्ता हरितगृह ग्यासहरू (Greenhouse gases) को मात्रा अप्रत्याशित रूपमा वृद्धि भएको छ, जसले पृथ्वीको तापक्रम बढाएर विश्वव्यापी तापीय असन्तुलन (Global warming) सिर्जना गरेको हो। जलवायु परिवर्तन मानवले सिर्जना गरेको गम्भीर समस्या हो र आजको दिनमा एक विश्वव्यापी चुनौती बनेको छ। यसको प्रभाव संसारभरि तीव्र गतिमा फैलिँदैछ, जसको प्रतिकूल असरले मानव जीवनसँगै पृथ्वीमा रहेका अन्य जीवजन्तुहरूको अस्तित्व समेत संकटमा पारिरहेको छ। यद्यपि जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न सकिँदैन, यसको नकारात्मक प्रभावहरूलाई घटाउन र न्यूनिकरण गर्न भने अवश्य सकिन्छ।
जलवायु परिवर्तनले एकातिर पशुपालन क्षेत्रलाई असर पुर्याइरहेको छ भने अर्कोतिर पशुपालन स्वयं पनि जलवायु परिवर्तनको एक कारणको रूपमा हेरिन्छ। यद्यपि नेपालले जलवायु परिवर्तनमा पुर्याउने योगदान अत्यन्त न्यून (०.०२५%) मात्र छ, जलवायु जोखिमको दृष्टिले नेपाल विश्वमा चौथो स्थानमा पर्छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूले नेपालको पशुपालन, कृषि, जलस्रोत, वनजंगल र मानव स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रहरूमा नकारात्मक असर पारिरहेको स्पष्ट देखिन्छ।

कारण (Cause)
उद्योगधन्दा, कलकारखाना, कृषि, यातायात, वन फँडानी तथा आगलागी जस्ता क्षेत्रहरूबाट CO₂, मिथेन, N₂O, CFC जस्ता ग्याँसहरू वायुमण्डलमा उत्सर्जन हुन्छन्। यस्ता ग्याँसहरूलाई हामी हरितगृह ग्याँस (GHGs) भन्दछौँ। यसले सूर्यबाट आएको विकिरण (Radiation) सोस्ने गर्दछ।
हरितगृह ग्यासहरूको वृद्धिमा सहयोग पुर्याउने र भूमण्डलीय तापमानमा वृद्धि ल्याउने प्रमुख मानवीय क्रियाकलापहरूमा कोइला, डिजेल, पेट्रोलजस्ता जीवाश्म इन्धन (Fossil fuels) र प्राकृतिक ग्यास आदिको प्रयोग विद्युत् उत्पादन, यातायात वा औद्योगिक प्रयोजनमा हुनु नै मुख्य कारण हुन्।
मुख्य ९ किसिमका हरितगृह ग्यासहरू:
(१) कार्बन डाइअक्साइड
(२) मिथेन
(३) नाइट्रस अक्साइड
(४) सल्फर हेक्जाफ्लोराइड
(५) क्लोरोफ्लोरो कार्बन्स
(६) हाइड्रोफ्लोरो कार्बन्स
(७) हाइड्रोफ्लुओरो कार्बन्स
(८) परफ्लुओरो कार्बन्स
(९) पानीको बाफ
यी ग्यासहरू वायुमण्डलको माथिल्लो भागमा एक तह बनाएर बसेका हुन्छन्। तिनीहरूले सूर्यका किरणहरू वायुमण्डलमा छिर्न दिन्छन् तर पृथ्वीबाट फर्केका ऊर्जालाई केही मात्रामा रोकिदिन्छन्, जसले गर्दा पृथ्वी न्यानो रहन्छ। यस प्रक्रियालाई हरितगृह प्रभाव (Greenhouse effect) भनिन्छ।
हरितगृह ग्याँस नभएको खण्डमा पृथ्वीको औसत तापक्रम –१८°C हुने थियो, जुन जीवजन्तु र मानव जीवनका लागि प्रतिकूल हुनेथियो।
तर अहिले यी ग्यासहरूको मात्रा तीव्र रूपमा बढ्दै गइरहेको छ, जसले विश्वव्यापी उष्णता (Global warming) ल्याएको छ। यही कारण जलवायु परिवर्तन जस्तो समस्या उत्पन्न भएको हो।
यसैबीच, उग्राउने पशुहरूको पाचन प्रक्रियामा आन्द्रिक किण्वन (Enteric fermentation) हुने हुँदा मिथेन ग्यास बन्ने गर्दछ, जुन उग्राउँदा वा गोबरमार्फत वातावरणमा जान्छ।

जलवायु परिवर्तनमा दुग्ध पशुपालनको योगदान
जलवायु परिवर्तनको एक प्रमुख कारक तत्वमा पशुपालन पनि पर्छ भने यो परिवर्तनबाट पशुपालन स्वयं पनि प्रभावित भएको छ। पशुबाट उत्सर्जन हुने प्रमुख ग्यासहरू:
* मिथेन (४४%)
* कार्बन डाइअक्साइड (२७%)
* नाइट्रस अक्साइड (२९%)
जलवायुमैत्री पशुपालन गर्दा पशु स्वास्थ्य, प्रजनन, आहार, व्यवस्थापनका सबै पक्षमा फाइदा हुने भएकाले सरोकारवाला निकायहरूले अध्ययन, अनुसन्धान, विकास र प्रविधिको प्रसार गरी कृषकसम्म पुर्याउनुपर्छ।
जलवायु परिवर्तनले पशुपालनमा पार्ने असरहरू
# पशुहरूको उत्पादकत्वमा गिरावट — दुग्ध उत्पादन, मासु तथा अन्य उपजमा कमी देखिनु।
# नयाँ रोगहरूको देखापर्नु — वातावरणीय परिवर्तनका कारण अज्ञात वा पहिले नदेखिएका रोगहरू देखा पर्नु।
# रोगको प्रकोपमा वृद्धि — चरम मौसमी अवस्थाले रोगको संक्रमण दर बढाउनु।
# प्रजनन चक्रमा अवरोध — भाले खोज्ने समय (Heat period) मा असामान्यता देखिनु।
# जुम्रा, उपियाँजस्ता परजीवीहरूको प्रकोप बढ्नु — तापक्रम तथा आर्द्रता परजीवीको लागि अनुकूल भई संख्या बढ्नु।
# औषधिको प्रभावकारितामा कमी — रोगजन्य जीवाणु र भाइरसमा प्रतिरोधात्मक क्षमता विकास भई औषधि असर नगर्नु।
# पानी स्रोतको सुक्खापन — सिँचाइको अभावले घाँसपात उत्पादन घट्नु, जसले पशुलाई आहाराको कमी गराउनु।
# चरन क्षेत्रको ह्रास — शहरीकरण, वन विनाश र जलवायु परिवर्तनले खुला चरन भूमि घट्नु।
# विषालु झारहरूको वृद्धि — वनमारा, काँडा, गन्धेझारजस्ता झारहरूको फैलावटले पोषिलो वनस्पति दबिनु।
# खाद्य बालीका उप–उत्पादनमा कमी — पराल, डोडजस्ता आहाराको स्रोत घट्नु।
# स्याउला तथा घाँस उत्पादनमा गिरावट — वातावरण अनुकूल नहुनु र सुख्खा क्षेत्रको विस्तार।
# गाईभैंसीपालनमा गिरावट — बढी आहार तथा पानी आवश्यक पर्ने भएकाले पानीको अभाव भएका क्षेत्रका कृषक साना पशु (बाख्रा, बंगुर, कुखुरा) पालनतर्फ आकर्षित हुनु।

अनुकूलन (Adaptation) तथा न्यूनिकरण (Mitigation) का उपायहरू
- व्यवसायिक दृष्टिकोणबाट पशुपालन गर्नु।
- असल पशुपालन अभ्यास (Good Dairy Husbandry Practice) अपनाउनु।
- उन्नत तथा उच्च उत्पादक क्षमतायुक्त जात पाल्नु।
- कम संख्यामा बढी उत्पादन दिने पशु पाल्नु।
- रोगसँग लड्ने क्षमतायुक्त पशु छनोट गर्नु।
- मुख्य रोगविरुद्ध खोप लगाउनु।
- प्रत्येक ३ महिनामा परजीवीविरुद्ध औषधि खुवाउनु।
- आधुनिक गोठ निर्माण र व्यवस्थापन गर्नु।
- स्थानीय जातको संरक्षण गर्नु।
- अनुत्पादक पशुको संख्या घटाउँदै लैजानु।
- मलमूत्रको व्यवस्थापन गरी रोग नियन्त्रण गर्नु।
- बधुवा प्रणाली (Stall-fed system) प्रवर्द्धन गर्नु।
- फोहोर मैलाको पुनःप्रयोग र व्यवस्थापन गर्नु।
- फार्ममा Sanitation तथा Bio-safety अपनाउनु।
- आहाराको पाचनशक्ति सुधार गर्नु।
- पशुलाई सन्तुलित आहारा (Balanced ration) खुवाउनु।
- Chaff cutter प्रयोग गरी पराल/घाँस टुक्र्याउनु।
- Silage र UMMB (Urea Molasses Mineral Block) को प्रयोग गर्नु।
- सफा पानी सधैं उपलब्ध गराउनु।
वन तथा वातावरणमैत्री अभ्यासहरू
- कृषि वन (Agroforestry) विस्तार गर्नु।
- डालेघाँसका लागि रूख रोप्नु।
- खोला किनारमा बाँस, नेपियर, अम्रिसो आदि लगाउनु।
- स्थानीय घाँस जातको संरक्षण गर्नु।
- सुख्खा सहन सक्ने घाँसको बीउ प्रयोग गर्नु।
- पशु विमा गरी जोखिम न्यूनीकरण गर्नु।
- वन संरक्षण र नाङ्गो जमिनमा वृक्षारोपण गर्नु।
- सामुदायिक वन विस्तार गर्नु।
- कबुलियती वन तथा पशु विकास कार्यक्रम पुनः सञ्चालन गर्नु।
- भू–क्षय रोक्न वृक्षारोपण र अव्यवस्थित रुख कटान रोक्नु।
- पानीका मुहानको संरक्षण गर्नु।
- जैविक ग्यास तथा साैर्य उर्जा (Bio-gas & Solar energy) प्रयोगमा जोड दिनु।
- प्लास्टिक पोखरी वा ट्यांकीमा वर्षा पानी संकलन गर्नु।

नीतिगत र सामाजिक उपायहरू
- जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्छ।
- राज्यको मात्र भर नपरी नागरिक तहबाटै सक्रियता देखाउनु आवश्यक छ।
- हरेक व्यक्ति, परिवार, समाज, टोल, वडा, पालिका हुँदै राष्ट्र नै समग्र रूपमा गर्मीको विनाशकारी प्रभावसँग जुध्न जुट्नुपर्छ।
- आजैदेखि दीर्घकालीन समाधानको तयारी सुरु गर्नुपर्छ।
प्रविधि र जनचेतनामा आधारित प्रयासहरू
- जलवायुमैत्री दुग्ध पशुपालन व्यवसाय (Climate-smart dairy farming) प्रविधि अवलम्बन गर्नु।
- स्थानीय वातावरणमा परीक्षण भइसकेका प्रविधि तथा अभ्यास प्रवर्द्धन गर्नु।
- सुख्खा प्रतिरोधी बीउबिजन र जैविक कृषि प्रविधिको प्रयोग बढाउनु।
- सडक, पार्क, सार्वजनिक स्थानमा वृक्षारोपण गर्नु।
- खोलानालाको सरसफाइ र सिमसारको संरक्षण गर्नु।
- स्रोतको Reuse, Reduce, Recycle मा जोड दिनु।
- कृषकस्तरमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु।
- रोग उपचार तथा रोकथामका लागि पशु स्वास्थ्य सेवा तयार राख्नु।
(डेरी विज्ञ डा. गुप्ता दुई दशकदेखि डेरी विज्ञानको क्षेत्रमा क्रियाशील छन्।)
प्रतिक्रिया दिनुहोस्