‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थिति अन्त्य हुन्छः श्रममन्त्री भण्डारी


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उनको भनाइ छ ।

उनले भनसुन र आफ्नो मान्छे नभएकाहरू रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरूमा नैराश्यता बढीरहेको बताए। उनले नेपालको श्रम बजारहमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विदेशी श्रमिकहरू आएर नेपालको माग धानिरहेको बताए ।

उनले नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरू आउने भएपनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत बताए । उनले अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरूलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताए ।

उनले श्रम र रोजगारदाताबिचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।