काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार काठमाडौँको नयाँ बानेश्वरमा आयोजित रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र बिस्तारै सुधारतर्फ उन्मुख रहेको बताएका हुन्।
नयाँ बानेश्वर व्यापार व्यवसायी संघको आयोजनामा भएको सो कार्यक्रममा उपप्रधानमन्त्री सिंहले राष्ट्र बैंकलगायत विभिन्न स्रोतका तथ्याङ्कहरूले आर्थिक सुधारको संकेत गरिरहेको उल्लेख गर्दै देशको अर्थतन्त्र सुधारको यात्रामा रहेको प्रष्ट पारे । “नेपालको अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक हुँदै गएका छन्,” उनले भने, “समाचारका आधारमा मात्र नभई राष्ट्र बैंकदेखि सबैको तथ्याङ्क हेर्यौं भने अर्थतन्त्र लय समाउने दिशातर्फ हिँडिरहेको छ।”
उनले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय रूपमा काम गरिरहेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघको प्रयासको सराहना गरे। यस्ता कार्यक्रमहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्न योगदान दिने विश्वास व्यक्त गर्दै मन्त्री सिंहले स्वास्थ्य सेवाको पहुँच अभाव भइरहँदा निःशुल्क स्वास्थ्य शिविरको महत्व झनै बढेको बताए ।
उनले आम नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न यस्ता शिविरहरूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै देशभर यस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्