गैरआवासीय नागरिकता कानुन निर्माणमा सरकारको अस्थिरता बाधक भयाेः मन्त्री राणा


काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकतासम्बन्धी कानून निर्माणमा सरकारको अस्थिरताले ढिलाइ गराएको बताएकी छन्।

नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले संविधान जारी भएयता सरकार बारम्बार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा अवरोध भएको बताएकी हुन् ।

“एनआरएन नागरिकता दिन ढिलो भएकै हो,” उनले भनिन्, “अहिले स्थायी सरकार आयो कि भन्ने आशा गरिएको छ। संविधान निर्माणपछि बीचका सरकारहरूले गैरआवासीय नागरिकताको विषयमा ध्यान दिन सकेनन्।”

उनले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको अपेक्षा अनुसार परिणाम नआएकै कारण प्रमुख दुई प्रतिस्पर्धी दल- नेपाली कांग्रेस र एमाले-बिच सहकार्य गर्नुपरेको स्पष्ट पारिन्।

“सरकार अस्थायी र अस्थिर हुँदा नीति निर्माणमा समस्या भयो,”उनले भनिन्, “त्यसैले अहिले दुई प्रमुख दलहरू मिलेर सरकार चलाउनुको मुख्य कारण यही हो।”

मन्त्री राणाका अनुसार गैरआवासीय नेपाली नागरिकताको कानुनी मस्यौदा तयार भइरहेको छ र चाँडै संसद्मा पेस गरिने तयारी छ। उनले सो मस्यौदा गैरआवासीय नेपालीहरूको सुझावका आधारमा तयार भइरहेको जानकारी दिइन्।

उनले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको धारणा पनि राखिन्।