कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनालाई रुग्ण अवस्थामा जान नदिन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

झापामा हुलाकी राजमार्ग अन्तर्गत निर्माण भएका रतुवा तथा कन्काई पुलको बिहीबार निरीक्षण गर्दै मन्त्री दाहालले समयमै सम्पन्न नभएका आयोजनाहरूकाे अध्ययन गर्न मन्त्रालयले समितिसमेत गठन गरिसकेको जानकारी दिएका हुन् ।

“निर्माण जिम्मा लिने तर समयमा नपुरा गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ,” मन्त्री दाहालले भने “निर्माण व्यवसायीहरूले सक्ने जति मात्र आयोजना जिम्मा लिनुपर्छ। हामी प्रभावकारी नियमनमा लागिरहेका छौं।”

निरीक्षणका क्रममा मन्त्री दाहालले आयोजनाहरूको नियमित अनुगमन र प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका थिए। उनले झापामा सञ्चालनमा रहेका अन्य विकास निर्माण कार्यहरुको पनि स्थलगत निरीक्षण गरे ।

हालै सम्पन्न रतुवा खोलाको पुलले झापा र मोरङलाई जोड्ने महत्वपूर्ण यातायातिक सेवा दिने अपेक्षा गरिएको छ। उता कन्काई खोलामा निर्माणाधीन पुल केही समय अवरुद्ध भएपनि पुनः निर्माण सुरू भएको छ। हाल उक्त पुलमा स्ल्याब ढलानको काम सम्पन्न भइसकेको छ भने निकट भविष्यमा त्यसको भारबहन क्षमता परीक्षण गरिने जनाइएको छ।