सरकारको नीति तथा कार्यक्रम आज संसद्मा प्रस्तुत हुँदै


काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा आयोजित दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले हरेक वर्ष संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले संयुक्त बैठकको सम्भावित कार्यसूची तय भइसकेको जानकारी दिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई दिउँसो २ः४५ बजेसम्म निर्धारित पोशाकमा आशनग्रहण गरिसक्न आग्रह गरिसकेका छन् ।

यसअघि नै सत्तारूढ गठबन्धन दलहरूबीच आर्थिक अवस्थालाई गति दिने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा विस्तृत छलफल भइसकेको छ ।

नयाँ नीति तथा कार्यक्रममा विशेष गरी युवा लक्षित कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, स्टार्टअप प्रवर्द्धन, व्यावसायिक योजना तथा सुशासन सुदृढीकरणमा जोड दिइने विश्वास गरिएको छ ।

साथै, सरकारको पूँजीगत खर्चलाई बढाउँदै आर्थिक पुनरुत्थानमा केन्द्रीत हुने नीति ल्याइनेछ । सङ्घीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ।

त्यसपछि वैशाख ३० गते विनियोजन विधेयक (बजेट) सम्बन्धी सिद्धान्त र प्राथमिकता विषयमा प्रारम्भिक (प्रि–बजेट) छलफल हुनेछ ।

संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको पूर्ण बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नु पर्ने व्यवस्था छ । यससँगै आगामी आर्थिक वर्षको नीति, योजना र बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा आरम्भ भएको छ।