काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजित लगानी सम्मेलन नेपालकै समग्र विकासका लागि कोशेढुंगा सावित हुने दाबी गरेका छन् ।
कोशी लगानी सम्मेलनको दोस्रो दिनको सत्रमा मन्तव्य दिँदै मन्त्री दाहालले कोशी प्रदेशमा लगानीका लागि उद्योग, कृषि, पर्यटन, यातायातजस्ता धेरै सम्भावना र अवसरहरू रहेको बताएका हुन् ।उनले भने, “नेपालको औद्योगीकरणको जग बसाल्ने काम कोशी प्रदेशले गरिरहेको छ। यस प्रदेशमा लगानी गर्न सकिने प्रशस्त क्षेत्रहरू छन्।”
सरकारले हालै लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न कानुन संशोधन गरिसकेको उल्लेख गर्दै मन्त्री दाहालले आवश्यक परे थप कानुन निर्माण वा संशोधन गर्न सरकार तयार रहेको जानकारी दिए ।
नेपालले विद्युत उत्पादन र उपभोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले विद्युतीय सवारीसाधन आयातमा समेत सरकार प्रोत्साहन गरिरहेको बताए । स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई उनले विद्युतीय सवारीसाधनको उत्पादनमा समेत लगानी गर्न आह्वान गरे ।
“हामी सम्पूर्ण यातायात प्रणालीलाई विद्युतीय बनाउने अभियानमा छौं,” मन्त्री दाहालले भने, “२०३० सम्ममा नेपालले आयात गर्ने सवारी साधनमध्ये ८० प्रतिशतभन्दा बढी विद्युतीय बनाउने लक्ष्य राखिएको छ। यसका लागि हामी लगानीकर्ताहरुलाई विद्युत उत्पादन र विद्युतीय सवारी उद्योगमा लगानी गर्न आमन्त्रण गर्दछौं।”
कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको यो लगानी सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्