काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब हाइड्रोजन इनर्जी प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा प्रशस्त विद्युत उत्पादन क्षमताको विकास भएको बताउँदै हाइड्रोजन इनर्जीसमेत उत्पादन र प्रयोग गर्न सकिने अवस्थामा नेपाल पुगेको दाबी गरेका हुन् ।
“अस्ति म आफै हाइड्रोजन ब्याट्रीबाट चलेको गाडीमा चढेर कार्यक्रममा गएको थिएँ। त्यो एउटा प्रयोगात्मक हो। अब हामी हाइड्रोजन ऊर्जाबाट केही ठाउँहरूमा गाडी र बसहरू चलाउन सक्छौं,” प्रधानमन्त्री ओलीले भने, “त्यो ठाउँमा हामी पुगिसकेका छौं। अब यसको विस्तार गर्न सकिन्छ।”
प्रधानमन्त्री ओलीले नेपालसँग जलविद्युत् मात्र नभइ ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्ने सम्भावना रहेको उल्लेख गरे। साथै आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० जस्ता प्रविधिहरूलाई आवश्यक पर्ने विद्युत् नेपालले उत्पादन गर्न सक्ने आधार निर्माण भइसकेको धारणा राखे।
“हामीसँग अब इलेक्ट्रिसिटी छ। अब तपाईंहरूले स्थापना गर्दा, केही सुरसार गर्दा थप इलेक्ट्रिसिटी उत्पादन गर्छौं। हामी एआईलाई चाहिने इलेक्ट्रिसिटी उपलब्ध गराउन सक्छौं,”ओलीले भने ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न पनि आग्रह गरे। उनले पूर्वाधार, सडक पहुँच लगायतका संरचना सुदृढ बन्दै गएकाले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य बन्दै गएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्