मिडिया एक्सन नेपालको प्रतिवेदन सार्वजनिक, पत्रकार रजकको हत्या र बुढाथोकी माथिको धम्की विशेष रूपमा उजागर


काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको छ।

मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका उल्लंघनका घटनाहरू समेटिएको यो प्रतिवेदन आज काठमाडौँमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको हो।

मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा। सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रतिवेदनमा यस वर्ष मात्रै ३२ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी उल्लंघनका घटनाहरू प्रलेखित भएको उल्लेख गरिएको छ, जसबाट ४० जना व्यक्ति र सञ्चारमाध्यम प्रभावित भएका छन्। तीमध्ये पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ३ जना पत्रकारको गिरफ्तारी, सूचनाको अवरोध, पत्रकारमाथि धम्की र त्रासका घटना, र मिडिया संस्थामाथिको आक्रमणजस्ता गम्भीर विषयहरू समेटिएको छ।

प्रतिवेदनमा पत्रकार सुरेश रजकको २०२५ मार्च २८ मा राजसंस्था समर्थक प्रदर्शनको क्रममा भएको हत्या र पत्रकार गजेन्द्र बुढाथोकीलाई भ्रष्टाचारसम्बन्धी रिपोर्टिङ गरेपछि चिनियाँ दूत चेन् सोंगबाट धम्की दिइएको घटनालाई विशेष रूपमा उल्लेख गरिएको छ। यस्ता घटनाहरूले पत्रकारहरूको पेशागत सुरक्षामाथिको चुनौती मात्र नभई अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथिको खतरा पनि देखाएको प्रतिवेदनमा उल्लेख छ।

कार्यकारी निर्देशक पन्तले भने, “यी तथ्यांकहरू केवल आँकडा होइनन्, बरु स्वतन्त्र मिडिया र अभिव्यक्तिमाथि त्रासको वातावरण सिर्जना गर्ने प्रयासको सूचक हुन्। यस्ता गतिविधिहरूले लोकतन्त्रको मेरुदण्ड कमजोर बनाइरहेका छन्।”

प्रतिवेदनमा १६ वटा घटनाहरू सरकारी निकायसँग, १ घटना विदेशी दूतसँग र २३ वटा गैर-राज्य पक्षसँग सम्बन्धित रहेको उल्लेख छ। महिला पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको पानीको फोहरबाट घाइते भएको घटनाले महिला पत्रकारहरू थप जोखिममा रहेको पक्षलाई पनि उजागर गरेको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा ‘कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभाव” शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो, जसमा सञ्चारकर्मी र कानुनी विज्ञहरूले एआईको सम्भाव्यता, चुनौती, र नीतिगत संरचनाको आवश्यकता माथि बहस गरेका थिए।

अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले प्रतिवेदनबारे टिप्पणी गर्दै मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताको रक्षामा निभाएको भूमिकाको प्रशंसा गरे । उनले भने, “यस संस्थाले तथ्य र प्रमाणका आधारमा पत्रकारमाथिका आक्रमणहरूको अभिलेख राख्दै लोकतान्त्रिक बहसलाई दिशा दिने वाचडगको भूमिका खेलेको छ।”

प्रतिवेदन मिडिया एक्सन नेपालको वेबसाइटमा उपलब्ध छ। संस्थाले सबै सरोकारवालालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आ–आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गरेको छ।