काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित र प्राथमिकिकृत ढंगले आएको बताएका छन्।
शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद भट्टराईले यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा अलि बढी समग्र र केन्द्रित रहेको बताएका हुन् ।
“यस पटकको नीति कार्यक्रम अलि सन्तुलित छ, अलिकति कम्प्रिहेन्सिभ ढंगले आएको छ,” सांसद भट्टराईले भने, “विगतमा छरपस्ट रुपमा आउँथे, यसपटक प्राथमिकिकरण भएको छ। त्यसैले अलि छोटो र स्फूर्तिलो पनि छ।”
उनका अनुसार यसपटकको नीति तथा कार्यक्रममा विशेषगरी शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा विशेष जोड दिइएको छ। शिक्षालाई व्यावसायिक र प्राविधिक धारमा रुपान्तरण गर्ने नीति आएको उल्लेख गर्दै उनले प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई स्वरोजगार हुनेगरी आत्मनिर्भर बनाउने प्रयास सराहनीय रहेको बताए।
सांसद भट्टराईले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई बल दिइएको र कतिपय जटिल रोगहरूको निःशुल्क उपचारका प्रावधान समेत नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए।
पूर्वाधार विकासका सन्दर्भमा विगतमा जथाभावी रुपमा कार्य भएका योजनाहरूको अपेक्षित प्रतिफल नआएको भन्दै उनले यसपटक राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार २५–२६ वटा राष्ट्रिय महत्वका आयोजना सूत्रबद्ध रुपमा अगाडि बढाउने नीति लिइएको छ।
उनले विगतका केही राम्रा कार्यक्रमको निरन्तरता दिने प्रयास समेत नीति तथा कार्यक्रममा गरिएको हुँदा परम्परागत शैली पनि केही अंशमा देखिएको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्