मोटरसाइकल चोरीमा संलग्न एक युवक ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँँ । काठमाडौँ महानगरपालिका वडा नम्बर-६ तिनचुलीबाट मोटरसाइकल चोरीमा संलग्न एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले पक्राउ गरेको व्यक्ति काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका १९ वर्षीय प्रकाश तामाङ हुन्। उनले वास्तविक नम्बर प्रदेश ३-०२-०११ प ३६९९ भएको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०१५ प ७७९८ राखी चलाइरहेका अवस्थामा फेला परेका हुन्।

उक्त मोटरसाइकल सिन्धुपाल्चोकका रुकेश आले मगरको रहेको र यही वैशाख ५ गते नयाँबानेश्वरस्थित थापागाउँबाट हराएको भन्दै मोटरसाइकलधनीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि बानेश्वर प्रहरी वृत्तमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रवक्ता गिरीका अनुसार मोटरसाइकल चोरी नियन्त्रण तथा हराएको सवारी खोजतलास कार्यलाई प्रभावकारी बनाउन सवारीधनी स्वयं पनि सजग रहनुपर्ने आवश्यकता रहेको छ।

उनले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, ह्विल लक, चेन लक, डिस्क लक जस्ता सुरक्षाका उपायहरू अपनाउन र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी नपार्क गर्न अनुरोध गरे।