काठमाडौँ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा नेपालमा २ लाख ७१ हजार ६९२ मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन मार्फत आपूर्ति भएको मलमध्ये सबैभन्दा बढी युरिया १ लाख ६६ हजार ८३४ मेट्रिक टन रहेको छ।
कुल आपूर्तिमा कृषि सामग्री कम्पनी लिमिटेडको हिस्सेदारी १ लाख ४२ हजार ५७९ मेट्रिक टन रहेको छ भने साल्ट ट्रेडिङ्गको २४ हजार २५४ मेट्रिक टन छ।
मन्त्रालयका अनुसार विक्री भएको कुल रासायनिक मलको मात्रा ३ लाख ६ हजार २०९ मेट्रिक टन पुगेको छ। तीमध्ये १ लाख ८८ हजार २५० मेट्रिक टन युरिया, १ लाख ६ हजार ५३ मेट्रिक टन डीएपी र ११ हजार ९०६ मेट्रिक टन पोटास रहेको छ।
हालसम्मको मौज्दात (स्टक) हेर्दा, सबैभन्दा धेरै डीएपीको मौज्दात ३० हजार ८०८ मेट्रिक टन रहेको छ भने युरिया १८ हजार ३१६ र पोटास १२ हजार १३४ मेट्रिक टन मात्र रहेको देखिन्छ।
साथै, आगामी हप्ताहरूमा थप मल आपूर्ति हुने जानकारी पनि मन्त्रालयले दिएको छ। साल्ट ट्रेडिङ्गमार्फत ३० हजार मेट्रिक टन युरिया कोलकाताबाट नेपाल प्रवेशको क्रममा रहेको छ भने कृषि सामग्री लिमिटेड मार्फत आयात भएको थप ३० हजार मेट्रिक टन युरिया बैशाखको तेस्रो हप्तादेखि नेपाल भित्रिन सुरु हुनेछ।
त्यसैगरी, ३३ हजार मेट्रिक टन डीएपी बैशाख २० सम्ममा कोलकाता आइपुग्ने र जेष्ठको पहिलो हप्ताबाट नेपाल प्रवेश गराइने योजना छ।
यस वर्षको वार्षिक लक्ष्य ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्ति गर्ने रहेको छ भने उक्त लक्ष्यअनुसार टेण्डर प्रक्रिया पूरा भइसकेको मन्त्रालयले जनाएको छ। कुल बजेट २७ अर्ब ९५ करोड रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्