काठमाडाैँ । नेपाली कांग्रेसले हालै प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रिय आवश्यकता समेटिएको दस्तावेजको रूपमा व्याख्या गर्दै त्यसप्रति समर्थन जनाउने निर्णय गरेको छ।
शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नीति तथा कार्यक्रम कांग्रेसकै मागअनुसार आएको दाबी गरे । उनले संसदमा कांग्रेसले नीति तथा कार्यक्रमको पक्षमा बोल्ने र सकारात्मक सुझावसहित समर्थन गर्ने बताए ।
“हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो। त्यसमा धेरै राष्ट्रिय आवश्यकताका विषय समेटिएका छन्। हामीले चाहेका कार्यक्रमहरू पनि समावेश भएकाले कांग्रेसले त्यसलाई समर्थन गर्ने निर्णय गरेको हो”, उनले भने ।
नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट निर्माणमा स्पष्ट सम्बोधन हुनुपर्ने माग गर्दै आगामी आर्थिक वर्षको बजेट त्यही अनुरूप तर्जुमा गर्न सरकारले सचेत हुनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए ।
साथै, विधेयक निर्माण प्रक्रियामा देखिएको सुस्त गतिप्रति चिन्ता व्यक्त गर्दै कांग्रेस अब संसद र समितिहरूमा परिणाममुखी ढंगले सक्रिय भुमिका खेल्ने निष्कर्षमा पुगेको घिमिरेले जानकारी दिए।
“विधेयक निर्माणको गति सुस्त हुँदा त्यसले गम्भीर प्रभाव पारिरहेको छ। त्यसलाई तीव्र बनाउन कांग्रेसले अब प्रत्यक्ष सक्रियता देखाउने छ,” उनले भने ।
संसदमा हाल विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ असार १५ गतेभित्र पारित गर्ने विषयमा शिक्षकहरूसँग भएको सहमतिलाई स्मरण गर्दै घिमिरेले त्यसलाई कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्