कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु,५ लाख ११ हजार भन्दा बढी विद्यार्थी सहभागि



काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा देशभर ५ लाख ११ हजार भन्दा बढी विद्यार्थी सहभागि भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ ।

सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थीमा सहभागि छन् ।

त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन् ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् र सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षामा कम श्रवणशक्ति,दृष्टिविहीन,सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षाको व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ ।
परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा परेको छ ।