प्रतिव्यक्ति आय करिब १५०० अमेरिकी डलर !


काठमाडौँ । नेपालीहरूको प्रतिव्यक्ति आय करिब १५०० अमेरिकी डलर बराबर पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को अनुमानित राष्ट्रिय लेखा तथ्याङ्कअनुसार वर्तमान बजार मूल्यमा (नोमिनल) नेपालीहरूको प्रतिव्यक्ति औसत आय १ हजार ४९६ अमेरिकी डलर बराबर पुगेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति औसत आय १ हजार ४४३ अमेरिकी डलर बराबर रहेको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति कुल राष्ट्रिय आय(जिएनआई) १ हजार ५१७ डलर र र प्रतिव्यक्ति कूल राष्ट्रिय खर्चयोग्य आम्दानी (जीएनडीआई) १ हजार ९४० डलर पुग्ने अनुमान गरेको छ।
प्रतिव्यक्ति जिडिपी भनेको: देशको सिमानाभित्र एक वर्षमा उत्पादन भएका वस्तु तथा सेवाको कुल मूल्यलाई जनसंख्याले भाग गर्दा आउने औसत हो भने प्रतिव्यक्ति जिएनआईले देशका नागरिकले स्वदेश तथा विदेशबाट आर्जन गरेको कुल आयलाई जनसंख्याले भाग गर्दा आउने औसत जनाउँछ ।

यसैगरि प्रतिव्यक्ति जिएनडीआईले देशको कुल आम्दानीमा विदेशबाट प्राप्त अनुदान र रेमिट्यान्रसजस्ता नियमित प्राप्त हुने रकमहरू जोड्दा आउने कुल खर्च गर्न मिल्ने आम्दानीलाई जनसंख्याले भाग गर्दा आउने औसत जनाउँछ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार  चालू मूल्यमा प्रतिव्यक्ति जीडीपी रु. २ लाख ३ हजार ५३८ पुगेको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय(जिएनआई) रु. २ लाख ६ हजार ४२४ पुगेको छ र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (जीएनडीआई) रु. २ लाख ६३ हजार ९५९ पुग्ने अनुमान छ।